Shivam

नवलपुरका सर्जक डा. भट्टराईका दुई कृति विमोचन

0
Burger

गैडाकाेट, भाद्र २९ ।                                                कालिका छात्र परिषद्द्वारा आयोजित कृतिविमोचन तथा रचनावाचन कार्यक्रममा उपप्राध्यापक डा. सूर्यप्रसाद भट्टराईद्वारा लिखित ‘गजलबिम्ब’ नामक गजलसङ्ग्रह र ‘पुरुषार्थ चतुष्टय एवं भक्ति परिचर्चा’ नामक शोधपरक कृतिको कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका कोषाध्यक्ष एवं समाजसेवी ओमप्रसाद सापकोटाले विमोचन गर्नुभयो ।

कृतिविमोचनपश्चात् प्रमुख अतिथिसमेत रहनुभएका ओमप्रसाद सापकोटाले देखेका कुरा छिटै बिर्सिन्छन् तर कृतिगत रूपमा लिपिबद्ध गरिएका कुराहरू अमर र अविस्मरणीय रहन्छन् भन्दै यस किसिमका अतिरिक्त क्रियाकलापमा वाचन गरिएका रचनालाई सङ्कलन गरेर प्रकाशन गर्नुपर्ने र त्यसका लागि सञ्चालक समितिले यथासम्भव सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विमोचित कृतिका बारेमा नेपाल प्राध्यापक संघ कालिका संस्कृत विद्यापीठ एकाइ समितिका सभापति तथा सहप्राध्यापक डा. मतिप्रसाद ढकाल र उपप्राध्यापक पीताम्बर सापकोटाले समीक्षा गर्नुभएको थियो भने लेखक तथा अनुसन्धाता डा. सूर्यप्रसाद भट्टराईले विमोचित कृतिमा सङ्कलित आफ्ना प्रतिनिधिमूलक चार गजलको सुमधुर वाचन गर्दै दुवै कृतिका बारेमा सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो ।

सहप्राध्यापकद्वय दुर्गाप्रसाद घिमिरे र खिमानन्द शर्मा, उपप्राध्यापक डा. गोपीनाथ कण्डेल र लेखापाल बेलबहादुर दराईले रचनासहित शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा छात्रहरू कुशल सापकोटा, सूर्य कँडेल, रविन चापागाई, विपीन बेलवासे, सुनील कँडेल, सुदर्शन घिमिरे, विष्णु लामिछाने र गणेश भण्डारीले रचनावाचन गरेका थिए ।

लेखक कालिका संस्कृत विद्यापिठ, गैडाकाेट र कुमारवर्ती बहुमुखी क्याम्पस, कावासाेतीका प्राध्यापक समेत हुनुहुन्छ । साहित्य कुञ्ज नवलपुरका अध्यक्ष समेत रहेका डा भट्टराईकाे यस अघि पनि गजल संग्रह प्रकाशित भएकाे थियाे ।                                                                  कालिका छात्र परिषद्का अध्यक्ष अनुप भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण परिषद्का सचिव गणेश भण्डारीले गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।