मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरू
कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलाईसिस सेवा सुरु भएको छ । जिल्लाभित्र रहेका नियमित डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो । गण्डकी प्रदेश स्वास्थ तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मंगलबार जिल्ला अस्पतालमा डायलाईसिस सेवाको शुभारम्भ गर्नु भएको हो ।
हाल सम्म पूर्वी नवलपरासीमा मृगौलासम्बन्धी बिरामीलाई डायलाईसिसका लागी चितवन र काठमाण्डौं जानुपर्ने बाध्यता थियो । उक्त सेवा शुरु भएपछि घण्टौं समय र पैसा खर्च गरी डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले प्रदेश स्वास्थय मन्त्रालयको आपुर्ती व्यवस्थापन केन्दबाट प्राप्त ४ वटा मेसिन मध्ये ३ वटा मेसिनबाट सेवा सुरु गरिएको जानकारी दिनु भयो । तत्कालका लागी २ जना जनशक्तिको सहयोगमा २४ सै घण्टा सेवा प्रदान गर्ने र आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार प्रदेश सरकारको आर्थीक तथा भौतिक सहयोगमा सेवा सुरु गरिएको हो ।
जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन् । सरकारले मृगौला रोगीहरुको निःशूल्क उपचार घोषणा गरेपनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट समयमा डायलाइसिस सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो ।