उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड'(CCPIT)का उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताउनुभयो।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याउनुभयो। चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनुपर्ने आबश्यकता औल्यानुभयो।
नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्याउनुभयो। तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।
त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चारबर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला र सहज भएको बताउनुभयो। कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट ब्यापारमा समेत असर परेको बताउनुभयो। नेपाल आफुहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उहाँले बताउनुभयो।
झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताउनुभयो। उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदुत छन् सोङ सहित शिष्टाचार भेटवार्तामा आउनुभएको थियो।