लुम्बिनी प्रदेशको पाँचौ मुख्यमन्त्री जोख बहादुर महराद्धारा सपथ ग्रहण
लुम्विनी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महराले सपथ ग्रहण गरेका छन्।
लुम्विनी प्रदेशका ४८ जना बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।
महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन्। महरासंगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दल जसपाबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन (सिजल)ले मन्त्री पदको सपथ ग्रहण गरेका छन्।
अहिले मन्त्रि नियुक्त भएका कसैलाई पनि मन्त्रालयको जिम्मेवारी दिईएको छैन। महराले आफुले सपथग्रहण गरेसंगै सत्तासाझेदार दलहरुको तर्फबाट सानो आकारको मन्त्रिमण्डल बनाएका हुन्। नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रिहरुले बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरि आजै प्रदेश राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ्गमा पदभार ग्रहण गर्ने तयारी गरिएको छ ।