हाम्रो व्यवसाय पलायन हुने स्थितिमा छ: पेट्रोलियम व्यवसायी
भैरहवा । पेट्रोलियम व्यवसायीले आफूहरुको व्यवसाय पलायन हुने स्थितिमा रहेको गुनासो गरेका छन् । उनीहरुले बैंक ब्याजदर तिर्न नसक्दा, कमिसन कम हुँदा, पेट्रोलियम पदार्थको विक्री घट्दा लगायत विभिन्न कारणले व्यवसाय पलायन हुने खतरा बढेको बताए ।
पेट्रोलियम व्यवसायी संघ नेपाल शाखा भलवारी (रुपन्देही) ले बिहीबार भैरहवामा आयोजना गरेको विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पदस्थापन समारोहमा व्यवसायीहरुले यस्तोबताएका हुन् । कार्यक्रममा संघका अध्यक्ष गौरीशंकर गुप्ताले व्यवसायी विस्थापित हुने पुगेको बताए ।
उनले भने, ‘व्यवसायी पलायन भइरहेका छन् । व्यवसायीका माग सरकारले सुन्नुपर्छ ।’ पेट्रोलियम व्यवसायी संघ नेपाल व्यवसायिक हित र प्रवद्र्धनका लागि स्थापना गरिएको नयाँ संस्था भएको उनको भनाइ छ । त्यस्तै पेट्रोलियम व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य अशोक गुरुङले व्यवसायीले कमिसनको विषयमा धेरैपटक आन्दोलन गरेको बताए । उनले भने, ‘मुलुकको आर्थिक अवस्था कमजोर भएका कारण व्यवसायी धरासायी हुँदैछन् ।
व्यवसायीलाई नजरअन्दाज भएको महसुस गरेर यो संस्थाको स्थापना गरिएको हो ।’ उनले आफ्ना अधिकारका लागि लडिरहने बताए । पश्चिमाञ्चल टंयाकर व्यवसायी संघ भलवारीका अध्यक्ष राकेश कसौधनले पेट्रोलियम पदार्थ विक्री गर्दा थोरै कमिसन ठूलो समस्या रहेको बताए । उनले भने, ‘एसियामै सबैभन्दा कम कमिसन नेपालमा छ ।
बैंक ब्याज तिर्न नसकेर व्यवसायी पलायन भइरहेका छन् ।’ गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक रमेश प्रसाद पाण्डेले लगानीकर्ताको राज्यले उचित सम्मान गर्ने बताए । उनले भने, ‘राज्य तपाईहरुको सारथी हो । व्यवसायीबीच स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । उपभोक्त परिणामबाट ठगिनु हुँदैन ।
कमिसन कम भयो भनेर उपभोक्तालाई मर्का पार्ने काम गर्नुहुँदैन ।’ पेट्रोलियम व्यवसायी संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र गुप्ताले धेरै संघर्षले यो संस्था स्थापना र दर्ता भएको बताए । उनले भने, ‘व्यक्तिगत स्वार्थले यो संस्था खोलिएको होइन । व्यवसायीको हकहितका लागि काम गर्छौं ।’
मुलुकको अर्थतन्त्र कमजोर भएको र पेट्रोलियम पदार्थको विक्री घटेको बताए । वरिष्ठ उपाध्यक्ष गुप्ताले पेट्रोलियम पदार्थ भारतमा पाइने मूल्य भन्दा नेपालमा अझै घटाउन सके विक्री बढ्ने बताए । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालले उपभोक्ताले कसरी सहज रुपमा पेट्रोलियम पदार्थ पाउन सक्छन् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले पेट्रोलियम पदार्थको विक्री घटेको बताए । उनले भने, ‘उपभोक्तालाई सहज ढंगले सेवा दिनु हाम्रो कर्तव्य हो ।’
पेट्रोलियम व्यवसायी संघ नेपाल शाखा भलवारी (रुपन्देही) का अध्यक्ष गौरीशंकर गुप्ताको अध्यक्षता, नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुसालको प्रमुख आतिथ्यता तथा अधिवक्ता अर्जुन कार्कीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका लेखा प्रमुख पवन कुमार यादव लगायतले भनाइ राखेका थिए ।