Shivam

सहकारीको नीति नियममा चलेका र समुदायमा आधारीत सहकारीमा समस्या छैन : पुष्प सहकारीको रजत महोत्सव

0
Burger

 बुटवल। सहकारीको निति नियममा चलेका र समुदायमा आधारीत सहकारीहरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्तीबाट सहकारीको रकमको दुरुपयोग,र अपचलन हुने गरेको पाइएको पनि उनिहरुले बताए ।

वक्ताहरुले सहकारीको सदस्य बन्दा हरेक कुरा बुझेर बन्नुपर्नेमा समेत जोड दिए। बुटवल-७ मा अवस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । कार्यक्रममा पुष्प बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष चरणदास तिमिल्सेनाले केहि सहकारीको बदमासीले राम्रो काम गरिरहेका सहकारीमा समेत आशंका पैदा गरेको भन्दै समुदायमा आधारित सहकारीमा अहिलेसम्म समस्या नदेखिएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहनुभएका संस्थापक अध्यक्ष तिमिल्सेनाले सहकारीमा श्रोत नखुलेका, भष्ट्राचार गरेको रकम समेत राखेर बढी ब्याज लिने र सदस्यभन्दा बाहिरकालाइ समेत ऋण प्रवाह गर्ने गर्ने प्रवृत्तिले समस्या उत्पन्न गरेको बताउनु भयाे। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले बुटवल उपमहानगर भित्र झण्डै दश सहकारीमा अपचलनको समस्या देखिएको बताउँदै ति सवै जिल्ला बाहिर,संघ र प्रदेशमा दर्ता भएका सहकारी भएको बताउनु भयो ।

उहाँले आफुले धेरै सहकारीको साधारण सभामा जाने अवसर जुटेको बताउदै पुष्प सहकारीमा खराव कर्जा नभएको पाउँदा हर्षित भएको उल्लेख गर्नुभयो । सहकारीले सदस्यहरुको हितमा काम गर्नुपर्ने उहाँले बताउनु भयो । संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले पुष्प सहकारीमा सदस्य र संचालक समितिको अथक प्रयासले अहिलेसम्म खराव कर्जा नरहेको बताउनुभयो । अध्यक्ष पाण्डेले सहकारीले सवै सदस्यहरुको भावना बुझेर सहकारिको नियमभन्दा बाहिर गएर लगानी नगरिएको बताउनुभयो ।

कार्यक्रममा इन्द्रेणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष माया गौतमले सहकारीमा ठुलो पुंजीमात्र भएर नहुने र सहि तरीकाले निती र बिधिमा चलाउनु पर्नेमा जोड दिनुभयो। पुष्प सहकारीको संचालन प्रकृयाबाट आफू प्रभावित भएको उहाँले बताउनुभयो । आफ्नै सदस्यहरुले खराव नियत राखेर ऋण लैजादा ऋण असुलीमा समस्या हुनेगरेको उहाँको भनाई छ।

सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले अध्यक्ष राम प्रसाद पाण्डेद्धारा प्रस्तुत बार्षिक प्रगति तथा निति कार्यक्रम प्रतिबेदन र कोषाध्यक्ष चुडामणि पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनले तथा लेखा सदस्य सरस्वती ढकाल अर्यालद्धारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको छ ।

सधारण सभाले संस्थाको पुर्नलिखित विनियम २०८१ र संस्थाको रणनितिक योजना २०८१ लाइ अनुमोदन गरेको छ । सहकारीमा हाल पुरुष ३८६ र ५३१ जना महिलासहित कुल ९१७ जना सेयर सदस्य रहेका छन् । पुष्प सहकारीको हाल शेयरपूँजी २ करोड ३८ लाख ९८ हजार ७०० रुपैंयाँ रहेको छ भने कर्जा लगानी ९ करोड २१ लाख १३ हजार पुगेको छ । यस्तै बचत ११ करोड ३१ लाख २४ हजार ३४६ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा १४ लाख ४५ हजार ५५३ खुद मुनाफा गर्न सफल भएको छ भने सहकारीको कुल पुंजी १५ करोडभन्दा बढी पुगेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।