Shivam

पूर्वमन्त्री गुप्तामाथि भएको हातपातको प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको छ : जनमत पार्टी

0
Burger

भैरहवा । जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशका सांसद् चन्द्रकेश गुप्ता (सिके) माथि भएको हातपातको प्रयासप्रति आफ्नो गम्भिर ध्यानार्कषण भएको बताएको छ ।

पार्टीले आइतबार विज्ञप्ती जारी गर्दै ईलाका प्रहरी कार्यालय लुम्बिनीको गेटमै आएर गुप्तामाथि हातपातको प्रयास गरिएको र सँगै रहेका पार्टीका कार्यकर्ता बिन्ध्याचल यादवमाथि योजनाबद्ध रुपमा २५–३० जनाको समूहमा आइ कुटपिट गरी सख्त घाइते बनाएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कार्तिक १० गते शनिबारका दिन दिउँसो १२ बजेको समयमा जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सिके गुप्ता तथा अन्य कार्यकर्ताहरुसहित रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय, लुम्बिनीमा वादविवादसम्बन्धी छलफल गराउन जाने क्रममा भएको घटनाप्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । ’

प्रहरी कार्यालयको गेटमै लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएका र प्रत्यक्ष निर्वाचित प्रदेश सांसद जस्तो गरिमामय व्यक्ति सवार प्रदेश ३–०१ च ६६२७ नम्बरको सवारीसाधनलाई रोकेर आक्रमण गर्नु निकै खेदपूर्ण भएको गुप्ताले बताए ।

‘घटनामा हाम्रा कार्यकर्ता विन्ध्याचल यादवलाई निर्घात कुटपिट गरी खुट्टा र टाउकोमा ठुलो असर पर्ने गरी घाइते बनाइएको, उहाँसँग रहेको मोबाइल र सांसद् गुप्ता सवार गाडीमा समेत ठुलो क्षति पुग्ने गरी भएको उक्त घटनाको सत्यतथ्य छानबीन गरी यस्ता आपराधिक क्रियाकलापमा संलग्न र आपराधिक मानसिकता भएका दोषीहरुप्रति कानून बमोजिम हदैसम्मको कारवाहीका लागि यसै विज्ञप्तीमार्फत सम्बन्धित निकायसँग जोड़दार माग गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

यसप्रकारको अराजक ढंगले सुनियोजित रुपमा घटाइएको घटनाप्रति जनमत पार्टी रूपन्देहीले घोर भत्र्सना एवं निन्दा गरेको उनको भनाइ छ ।

‘यस किसिमका घटना घटाइ साम्प्रदायिक र राजनीतिक लाभ लिन खोज्ने तत्वलाई समेत निरुत्साहन गर्दै अवस्थालाई अझ तनावपूर्ण हुन नदिनका लागि पार्टीको निर्देशन मानि संयमित व्यवहार देखाउने सम्पूर्ण कार्यकर्ताप्रति समेत जिल्ला समितिको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छौं । यस्ता घटनाहरुलाई निरुत्साहित गरी शान्त र सभ्य समाज निर्माणमा सबै पक्ष एकजुट भएर अगाडी बढ्न हार्दिक अपिल गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।