Shivam

घुम्ने होईन बसन्तपुर , चढ्ने होईन केबलकार

0
Burger

बुटवल । बुटवलबाट साढे २ किलोमिटरको केबलकार यात्रा पछि बसन्तपुर पुगिन्छ । बुटवलमा गर्मिले तातेको शरीर पाल्पाको तिनाउँ गाउँपालिका ३ , बसन्तपुरमा केबलकारबाट ओर्ली नसक्दै सितलताको अनुभुति हुन्छ । बुटवलको गोलपार्क भन्दा माथीपट्टी बमघाटबाट लुम्बिनी केबलकारको पहिलो स्टेशनदेखी बसन्तपुर डाँडा झण्डै १५ मिनेटको समयमा पुगिन्छ । हरियो बन , जंगल , तिनाउ नदि , सिद्धवावा क्षेत्र , बुटवल बजार देखी दक्षिणको क्षेत्र हेर्दै बसन्तपुरको डाँडामा पुग्छौँ । बसन्तपुरबाट भने उत्तरका हिमश्रृंखलाले सबैलाई आकर्षित गर्छ । बुटवल भैरहवाको कोलाहाल र भिडभाडबाट बसन्तपुर पुगेपछि मनलाई शान्ति मिल्छ ।

कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने विश्वास छ । जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेकोले बसन्तपुर पुगेपछि समय वितेको पत्तै हुँदैन । त्यसैले एक चोटी केबलकार चढेर पुग्नै पर्ने र धुम्नै पर्ने ठाउँ बनेको छ , बसन्तपुर । दुई वर्ष अघिसम्म सुनसान पाल्पाको तिनाउ गाउपालिका–३ को बसन्तपुर डाँडो अहिले प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ ।

गत सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समेत पुगेका थिए । निजी लगानीमा बुटवलमा बनेको लुम्बिनी केबल कारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिए । भारतीय पर्यटक भित्राउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसंग समन्वय गरेर विशेष योजना बनाइरहेको बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका भएकोले निजी क्षेत्रसंग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको प्रतिकृया दिए । केवलकार अवलोकनसंगै मुख्यमन्त्री आचार्यले बसन्तपुरमा रहेको प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गरे ।

केबलकार बनेसंगै सुनसान गाउँमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । सञ्चालनमा आएको १७ महिनामा लुम्बिनी केबलकारमा तीन लाख बढी पर्यटक आएको लुम्बनी केबलकार कम्पनीले जनाएको छ । केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।

माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुंदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ ।‘केबलकार नबन्दासम्म गाउँ सुनसान थियो, बाटो, गाडी र पानीको सुविधा नहुदा गाउँलेहरु बसाई सराई गरेर गाउं रित्तिन थालेको थियो, अहिले दिनहुं सयौं मान्छे घुम्न आउंछन्, गाउँ नै रमाइलो र गुल्जार भएको छ’–स्थानीय गणेश श्रीस मगरले भने–‘रित्तो डांडो यति रमाइलो र चहलपहल होला भन्ने सोचेकै थिएनौं, केबलकार बनेपछि डांडोको मुहार नै फेरिएको छ।’केबलकार बनेपछि पानी र यातायातको सुविधा भएको, रोजगारी पनि पाएको र उत्पादन गरेका कृषि उपजले सजिलै बजार पाएपछि गाउंमा खुशी छाएको श्रीसले बताए । यहाँ करिब सय जनाले रोजगारी पाएका छन्, जसमा स्थानीयको बाहुल्यता छ ।

धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए । घिमिरेका अनुसार १७ महिनामा आन्तरिक पर्यटक २ लाख २४ हजार, भारत सहित सार्क मुलुकबाट २४ हजार २३५ जना, तेस्रो मुलुकका ११२ जना, बुटवल वडा नं ३ र पाल्पा तिनाउ –३ का ६ हजार ५६९ जना (टिकटमा ५० प्रतिशत छुट) तथा चाडपर्व लगायत अफरमा सहुलियत टिकटमा ६१ हजार गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केवलकार चढेर बसन्तपुर पुगेका छन् ।

तिनाउँ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको  माथिल्लो स्टेशन बसन्तपुरमा बनेपछि उक्त ठाउं आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए । ‘दुई वर्ष अघिसम्म सुनसान थलो अहिले तिनाउ गाउंपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’–अध्यक्ष श्रेष्ठले भने–‘१७ महिनामा तीन लाख बढी पर्यटक आउनु धेरै सकारत्मक हो, प्रति टिकट २ प्रतिशत रकम तिनाउ गाउंपालिका र बुटवल उपमहानगरपालिकालाई कर वापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’

केबलकारले दुई वटा स्थानीय तहलाई असोजसम्म १५ लाख २७ हजार ४३२ रुपैयांका दरले ३० लाख ५४ हजार ८ सय ६७ रुपैयां कर तिरेको कम्पनीले जनाएको छ । यसवाहेक तिनाउ गाउंपालिकालाई मनोरन्जन कर वापत एक लाख ३ हजार ६२५ रुपैया तिरेको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । केबलकार कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउँलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबैखाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।

‘२५ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खांदै बीचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएको छ,यसले बसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएको छ’–केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले भने–‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगोरुपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ,पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ ।’

२५ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतमले बुटवलबाट बसन्तपुर डांडो जोड्ने केबलकारको परिकल्पना गरेका थिए । उनले स्थानीय लगानीकर्तालाई समेटेर करिब सय रोपनी जग्गा खरिद गरी प्रकृया शुरु गरेका थिए । तर आवश्यक पुंजि अपुग हुंदा डेढ दशकसम्म परियोजना अलपत्र थियो ।
५ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लियो र शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भएका हो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुर डांडोमा बनेपछि सो गाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । पछिल्लो समय भारतिय पर्यटकहरुको रोजाई लुम्बिनी केवलकार बन्दै गएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।