भैरहवामा रास्वपाको प्रदर्शन, रवि माथी राजनीतिक प्रतिशोधले फसाएको आरोप
भैरहवा । सहकारी ठगी आरोपमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा उक्त पार्टीका नेताकार्यकर्ताले आज पनि भैरहवामा प्रदर्शन गरेका छन् । भैरहवाको बुद्धचोकमा जम्मा भएका रास्वपा नेताकार्यकर्ताले बुधबार भैरहवाको सिद्धार्थनगर नगरपालिका परिक्रमा गर्दै विरोध जनाएका हुन् ।
बुद्धचोकमा आयोजित कोणसभामा पार्टीका उपसभापति डीपी अर्यालले आफ्ना उम्काउने र विपक्षीलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेर अनुसन्धानको नाममा दुःख दिने गरेको जनाए । रविमाथि अन्याय भएको दावी गर्दै सबै नेपाली जनताले यसको खबरदारी गर्नुपर्ने अर्यालले बताए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेको अहिले सरकारी वकिल कार्यालय, भैरहवामा बयान चलिरहेको छ । मंगलबार बयान नसकिएपछि उनको बुधबार बिहानैबाट बयान भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।
रुपन्देहीमा रविविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरी भनाई छ । रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई विना शर्त छाडिनु पर्ने र सहकारी पीडितलाई न्याय दिनुपर्ने प्रदर्शनकारीको माग छ । रास्वपाले भैरहवाको विद्रोहीचोक र मिलनचोकमा पनि कोणसभा गर्दैछ । राष्ट्रिय झण्डासहित रास्वपाले प्रदर्शन गरिरहेको हो ।