रूपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्ससँग लुम्बिनी शाक्यन ३० रनले पराजित
भैरहवा। लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा प्रोफेसनल मास्टर्स–११ ले जीत निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जीत निकाल्न सफल भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनल मास्टर्सले मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा ४० ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको मध्यमस्तरको योगफल खडा गर्यो । उसका लागि अजय रसाइलीले २३, ड्रस सुनारले १९, मोहम्मद हुसेनले १५, तुसार चौहानले ११ र अजय यादवले अविजित १० रन जोडे ।
बलिङमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान र अहम्मद खानले ३–३ तथा आकाश गिरी, रामायण साहनी, अजमत अली र प्रियान्सु बर्माले समान १–१ विकेट लिए ।
१ सय ३७ रनको लक्ष्यसहित ब्याटिङमा आएको लुम्बिनी शाक्यन २९ ओभर २ बलमा १ सय ६ रनमै अलआउट भयो । उसका लागि अब्दुल रबले ३९, अहमद खानले १७ र अजमत अलीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले मध्यमस्तरको लक्ष्य समेत भेट्टाउन नसक्दा पराजित हुन पुग्यो ।
लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनल मास्टर्सका कृष्ण पराजुलीले ७ ओभर २ बलमा १ मेर्डनसहित १५ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । यस्तै, मोहम्मद हुसेनले २ तथा ड्रस सुनार, करण केवट र तुसार चौहानले समान १–१ विकेट लिए । खेलमा कृष्ण पराजुली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए ।
सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । यसपटक नेपाल प्रिमियर लिगका कारण दुई चरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।