विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भयो : मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्ने गरी प्रदेश सरकारले पहल लिएको बताएका छन् ।
गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना विषयक छलफल कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभइ सिंगो लुम्बिनी प्रदेशमा उत्साह जगाएको बताए । उनले संघीय सरकारलाई यहाँबाट भिसा स्वीकृति, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणको काम अघि बढाउन आग्रह गरे ।
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भएको बताउँदै उनले सरकारले लगानीमैत्री कानून बनाउने जानकारी दिए । प्रदेशभित्र सरकारले लगानीको वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । ‘मन खोलेर लगानी गर्नुस्, सरकार वातावरण बनाउन प्रतिबद्ध छ । कानून बाधक छन् भने हामी त्यसलाई संशोधन गर्न तयार छौं’उनले भने–‘व्यवसायी साथिहरुले उद्योग, व्यवसायमा लगानी गर्नुपर्छ । तर, अहिले साथीहरुले शेयर बजारमा ध्यान दिएको जस्तो लाग्छ । उद्योग, व्यवसायबाट उत्पादन र आम्दानी बढाउन सकिन्छ ।’
विमानस्थल सञ्चालनको लागि लुम्बिनी प्रदेशको सिंगो मन्त्रीमण्डल डेलिगेसन गएको स्मरण गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्रदेश सरकारले पहलकदमी गरेको समेत बताए । ‘जतिबेला हामीले पदवहाली गर्यौं । त्यतिबेलै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रीमण्डल नै डेलिगेसन जाने काम भयो । प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो । पछि संघीय सरकारले त्यो कुरालाई आत्मसाथ गरेर सञ्चालनमा आएको हो’मुख्यमन्त्री आचार्यले भने,‘अन्तर्राष्ट्रिय उडानले रुपन्देहीमा मात्र नभइ सिंगो लुम्बिनी प्रदेशमा नै उत्साह जगाएको छ । त्यो मानेमा प्रदेश सरकार खुशी छ ।’
नियमित उडानका लागि नै विमानस्थलमा जहाज आएको उनले बताए । ‘चल्छ, अब उडान रोकिँदैन ढुक्क हुनुहोस्’मुख्यमन्त्री आचार्यले भने,‘अब चीनको सिचुआनबाट गौतमबुद्ध विमानस्थलमा सिधा दैनिक उडानको लागि पनि पहल गरेका छौं ।’
हालसालै भएको चीनको सिचुआन प्रान्तको भ्रमणको क्रममा मुख्यमन्त्री आचार्यले सिधा हवाई उडानको बारेमा प्रस्ताव राखेका थिए । ‘भर्खर म चीन गएर आएँ । चिनको सिचुवानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउनपर्छ भनेर मैले कुरा राखेको छु’उनले भने,‘ त्यहाँको प्रदेश सरकारले हामीले संघीय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेर पनि भनेको छ । अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउँदै सोही अनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन उनले जोड दिए । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण सरकारले बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश र टक्सार मिडिया ग्रुप लगायतका संघ–संस्थाको संयुक्त आयोजनामा भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना विषयमा छलफल कार्यक्रम राखिएको हो । कार्यक्रममा उद्योगी, व्यवसायीहरुले विमानस्थल चलायमान हुँदा बेग्लै आशाको सञ्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन जोड दिएका छन ।