‘अवैध आयात रोक्न नसक्दा उद्योगी–व्यवसायी मारमा’
बुटवल । भन्सार नाका र खुला सीमाबाट हुने अवैध आयातलाई सम्बन्धित सरकारी निकायले रोक्न नसक्दा राज्यलाई कर तिरेर वैध ब्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु सधैं मारमा परेको गुनासो गरेका छन् । नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने अवैध आयातको हिस्सा तथा औैपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो भएकाले स्वदेशी उद्योग–व्यवसाय फस्टाउन नसकेको र मुलुकको ब्यापार घाटा बढ्दै गएकाले अवैध आयातलाई कडाईका साथ नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् ।
उद्योग व्यापार संघ बुटवलको छैठौ साधारणसभामा बोल्ने व्यवसायीहरुले मुलुकको अर्थतन्त्र स्वाधीन र आत्मनिर्भर बनाउन औद्योगिकरण र ब्यापार विविधिकरण पहिलो शर्त भएको बताए ।
साधारण सभामा बोल्दै नगर प्रमुख पाण्डेयले सरकारले सार्वजनिक खरिद ऐन र लिज ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । यी दुबै ऐनका कारण लगानीमैत्री वातवरण बन्न नसकेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराए । उद्योगी व्यवसायीहरुको हितको लागि स्थानीय सरकार जहिले पनि तयार रहेको बताउँदै उनले मोतिपुर औद्योगिक क्षेत्र स्थापनाका लागि पुनः सिमांकन र नक्शांकनको काम सुरुवात भएको बताए ।
विवाद भएकोे क्षेत्र छाडेर विवाद नभएको स्थानमा औद्योगिक क्षेत्र बनाइने भन्दै उनले यहि बर्ष नै कम्पाउन्ड वाल निर्माण गरिने बताए । यसको लागि संघीय सरकार संग निरन्तर छलफल गरिएको बताउँदै उनले एक प्रदेश एक औद्योगीक क्षेत्र अवधारणा अनुसार बुटवलको मोतिपुर पहिलो औद्योगीक क्षेत्र बन्ने समेत दावि गरे । उद्योगी व्यवासायीहरुले अव आफ्नो प्राथमिकीकरण निर्धारण गरी सोही बमोजिम अगाडी बढ्न आवश्यक रहेको बताए ।
स्थानीय संघ संस्थाहरुले आआफ्नो सचिवालय भवन निर्माणको लागि जग्गा माग गर्दै आएको सन्र्दभमा उनले स्थानीय सरकारले जग्गा दिन सक्ने कानूनी आधार नभएको तर वडा तहबाट सिफारिस गरी कार्यापालिकाबाट अनुमोदन गरेर फाईल संघीय सरकारमा पठाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय उपाध्यक्ष बाबुराम पोखरेलले राज्यले स्वाधिन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र व्यापार विविधिकरणमा ध्यान नदिएको बताए । सरकार व्यवसायीसंग पाइलैपच्छिे कर असुल्ने ध्यानमा मात्रै रहेको तर व्यवसायीलाई राहत दिनेतर्फ ध्यान नगएको बताए । पछिल्लो समयमा सरकारले जनताको विश्वास गुमाउदै गएकाले बैंकमा खर्बौं रकम थुप्रिएको तर कर्जा प्रवाह र लगानीको वातावरण नभएको उनले औंल्याए ।
‘नेपालमा भन्सार तिरेर भन्दा भन्सार छलेर हुने अवैध आयातको हिस्सा तथा औैपचारिक भन्दा अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ, यसले गर्दा सरकारलाई कर तिरेर वैध व्यापार गर्ने उद्योगी व्यवसायी सधैं मारमा परेका छन्’– पोखरेलले भने–‘कृषिमा समेत आत्मनिर्भर हुन नसक्दा मुलुकको ब्यापार घाटा बढ्दै गएकाले कृषि उत्पादन बढाउने नीति बनाउन र अवैध आयातलाई कडाईका साथ नियन्त्रण गर्न जरुरी छ । ’
उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य गणेश प्रसाद अधिकारीले उद्योगमैत्री वातावरण बनाउन नसकेको बरु अनेकांै हिसाबबाट व्यवसायीलाई दुख दिने र कर मात्रै अशुल्ने काम गरेको आरोप लगाए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बजारमा आर्थिक अनुशासन आवश्यक भएको बताउँदै अवैध आयात लाई सरकारले जहिले पनि निस्तेज पार्ने बताए । अवैध कारोबार गर्ने व्याक्तिको कारण वैध व्यवासीहरुलाई असर परेको भन्दै अवैध कारोबार, सेटिङ्ग भएको बारेमा जानकारी दिन आग्रह गरे । उद्योग ब्यापार संघ बुटवलका निर्वतमान अध्यक्ष गोविन्द्र प्रसाद गैरेले उद्योगी व्यवसायीका समस्या समाधार भए मात्र अर्थतन्त्रमा सुधार आउने बताए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्णुप्रसाद पाण्डेले आर्थिक मन्दीको कारण धरासायी भएको अर्थतन्त्र उकास्नको लागि ३ तहका सरकारको ध्यान जानुपर्ने बताए । उनले खुल्ला भन्सार नीतिमा कडाई गर्न, भन्सार मुल्यांकन उचित मुल्यमा गर्न, भन्सार चेकजाँच पश्चात सामान निर्वाध रुपमा स्वदेशमा ल्याउने वातावारण निर्माणको लागि सहजीकरण गरिदिनको लागि सम्बन्धीत निकायको ध्यानकार्षण गराए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, नेकपा एमाले नगर उपाध्यक्ष माधव खनाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुषाल, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, उद्योग व्यापार संघ कपीलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, बुटवल उपमहानरपालिका वडानम्बर ११ का कावा अध्यक्ष युवराज राना, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकाल,संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी,महासचिव यमलाल मरासिनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।