Shivam

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने

0
Burger

भैरहवा  । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनीखबरको सम्पादक हुन् ।

क्लबको दुई उपाध्यक्ष मतदानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

उपाध्यक्षमा दीपक घिमिरे २६ मत र दीपेन्द्र बडुवाल २३ मतका साथ निर्वाचित भए । घिमिरे खबरपात्रो डटकमका प्रधान सम्पादक र नेपाल टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवार शंकर प्रसाद पाण्डेले १४ र माधबराज न्यौपानेले ९ मत पाए । बडुवाल कान्तिपुर, पाण्डे रुपन्देही एफएम र न्यौपाने गौतमबुद्ध सन्देश दैनिकमा आबद्ध छन् ।

क्लबको महासचिवमा प्रकाश न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने न्यूज २४ टिभीमा आबद्ध छन् । सचिवमा शशि पन्थी, कोषाध्यक्षमा विष्णु प्रसाद भट्टराई र सह–कोषाध्यक्षमा रबिन्द्र प्रताप गुप्ता निर्वाचित भएका छन् । पन्थी रेडियो नेपाल र भट्टराई गौतमबुद्ध सन्देश दैनिकमा आबद्ध छन् । गुप्ता खबरपात्रो डटकमका समाचार सम्पादक हुन् । उनी गौतमबुद्ध सन्देश दैनिक, बुद्ध र प्राइम टेलिभिजनमा समेत आबद्ध छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा मोहम्मद हबिब, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी चयन भएका छन् । हबिब दैनिक लुम्बिनी, पौडेल जनता टिभी, भण्डारी पब्लिक कुरा डटकम, आचार्य रेडियो नेपाल, मगर लुम्बिनीखबर र अधिकारी समता टिभीमा आबद्ध छन् ।

त्यस्तै क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । ज्ञवाली स्टारखबर नेपाल डटकम र यादव लुम्बिनी खबरमा आबद्ध छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् । उनी सिद्धार्थ एफएममा आबद्ध छन् ।

निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हितलाई माथि उठाउने गरी काम गर्ने जनाए । उनले क्लबका सदस्यहरुको वृत्ति विकासमा योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले एकढिक्का भएर रचनात्मक काम गर्नेछौं’, उनले भने, ‘यसका लागि सबैको साथसहयोग रहने विश्वास लिएको छु ।’

भैरहवा, धकधई, लुम्बिनी र मर्चवार क्षेत्रका पत्रकार आबद्ध प्रेस क्लबले यस क्षेत्रमा विगत लामो समयदेखि रचनात्मक र सिर्जनशील काम गर्दै आएको छ । यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सराहनीय रहेको जनाए । उनले आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायत हरेक क्षेत्रमा क्लबमा आबद्ध पत्रकारहरुले सकारात्मक कलम चलाउँदा धेरै कुराहरु परिवर्तन र सुधारमा सहयोग पुगेको बताए ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरञ्जन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।