ललितपुरका पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट
ललितपुर । ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे ।
इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको सङ्ख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् । ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ ।
पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेण्ड मात्रै पर्खे पुग्छ ।
महानगरका प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउदै यो नेपालमै पहिलो भएको धारणा राखे । पाँच वर्षसम्म महानगरले मर्मत गर्न परे एक पैसा पनि खर्च गर्न नपर्ने उनको भनाइ छ ।
उनले भने–‘ट्राफिक लाइटबिच भलाकुसारी हुन्छ, स्टपेज टाइम बढाउने, ग्रिन टाइम बढाउने घटाउने सन्दर्भमा कुराकानी हुन्छ ।’ उनले नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक भएको बताए । जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने जानकारी पनि उनले दिए ।
नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए ।
यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ । यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ । सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ ।
हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ । यो लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने प्राविधिक सुयोसभक्त माथेमाले बताए ।
उनका अनुसार यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ । यो लाइटले सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ । लाइट जडान गरेको नमुना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरेपनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख महर्जनले बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सञ्जयबहादुर राउतलेप्रविधि मैत्री नहँदा धेरै जनशक्ति सडकमा खटिनुपरेको बताए । ६४ स्थानमा ट्राफिक लाइट भए पनि विभिन्न कारणले ३५ स्थानमा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ ।
महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइटले प्रभावकारी ट्राफिक व्यवस्थापन हुने, यात्रुको जोखिम न्यूनीकरण, व्यवस्थित सहरीकरण, दिगो विकासका लागि महानगरले जडान गरेको ट्राफिक लाइटले सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।