तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीकाका १ सय ४६ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरुले छात्रवृत्ति अन्तर्गत सोमबार नगर प्रमुख रामकृष्ण खांणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा पाएका हुन् । उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।
नगर प्रमुख खांणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दै आएको बताए । उनले यस रकमले पढ्न ईच्छा भएरपनि बीचमै पढाई रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए । म धनी भएकाले पैसा बांडे भनेर प्रचार गर्न दिएको होइन, उनले भने, कुनैपनि बालबालिकाले पढ्ने अधिकारबाट बन्चित हुनु हुंदैन भन्ने मान्यता आत्मसाथ गर्दै आफ्नो पारिश्रमिक बांडेको हुं । उनले बालबालिकामा लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।
त्यस्तै, छात्रवृत्तिसंगै पालीकाले कक्षा ८, १० र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२ विद्यालयका १९ जना विद्यार्थीलाई सम्मान समेत गरेको छ । प्रति विद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैया र प्रशंसा पत्रले विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । सो अवसरमा नगर उपप्रमुख जगेश्वर देबी चौधरी , प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरणयोग्य भएको बताए ।