जनयुद्धमाथि हमला गर्ने काम भएको छ : महासचिव विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढंडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गरेका छन् । उनले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै ब्यङ्य गरे ।
बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले हाल नेपालमा विविध किसिमका पात्रहरुले चर्चा कमाइरहेको बताए । उनले भने, ‘आज नेपाल कस्तो ठाउँमा छ भन्दा अलिकति उदेक लाग्दो, अनौठो अनि रमाइलो जस्तो देखिन्छ । ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ भन्या जस्तो आज नेपाल पुग्या छ ।’ उनले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट व्यक्त गरे ।
उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरुले पगरी गुथेका छन् । कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन् ।’
महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरु सक्रिय रहेको संकेत गरेका छन् । उनले अगाडि भने, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ । कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन् । कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन् ।’