Shivam

बुटवल मेलामा दर्शकको आकर्षण “फिस टनेल”

सहभागी भन्छन्,  “टनेलले मेरो मन जित्यो । ”

0
Burger

बिमल पुरी , बुटवल ।
बुटवल देविनगरकी ज्योति शाही बुधवार साँझ बुटवल औद्योगिक व्यापार मेलामा सपरिवार सहित पुगेकी थिइन् । स्टलहरुमा दैनिकजसो प्रयोग हुने सामान तथा घरमा चाहिने सामाग्रीहरु खरिद गरी घर फर्कने सोच बनाएकी शाहीलाई मेला भित्र रहेको फिस टनेलमा नघुमी घर जानै मन लागेन ।उनी फिस टनेलमा संगै गएका परिवारका सदस्य सहित घुम्न पुगिन ।

टिकटक तथा अन्य सामाजिक सञ्चालनमा टनेलका बारेमा देखेपछि उनलाई एक चोटी घुमौ भन्ने लागेर आएको उनले बताइन् । फिस टनेल घुमेपछि उनलाई मेलाकै सबैभन्दा अकर्षक घुम्नुपर्ने ठाउँनै यही रहेको बताइन् ।उनले लुम्बिनी रिपोर्टसंग कुरा गर्दै एक चोटी सबैलाई फिस टनेल घुम्न आग्रह गरिन् ।

यस्तै, फिस टनेलमा घुमेर बाहिर निस्कदै गरेकी खुसी क्षेत्रीले पनि आफूले जिवनमा एकै पटक यति धेरै माछा कहिल्यै पनि नदेखेको लुम्बिनी रिपोर्टलाई बताईन । सस्तो टिकट शुल्कमा हेर्दै रोचक लाग्ने फिस टनेले आफ्नो मन जितेको उनले सुनाईन ।

ज्योति र शाही जस्तै मेलामा पुगेर टनेल घुम्न पुगेका प्रदिप खनालको अनुभव पनि उस्तै छ । फिस टनेल दुबईमा छ भन्ने सुनेका उनले बुटवल मेलामा पुगेपछि आफैलाई अचम्मको अनुभव भएको लुम्बिनी रिपोर्टलाई सुनाए । उनले भने , “म अहिले साथीहरु संग आएको छु , म फेरी पनि हेर्न आउछु । अब विदाको दिन मिलाएर परिवार सहित पुन आउने मन छ ।” खनाल भन्छन् , “टनेलले मेरो मन जित्यो । ”

“लगानी लुम्बिनीमा ,समृद्धि देशमा” भन्ने नारा सहित शुरु भएको बुटवल औद्योगिक व्यापार मेलामा अहिले सबै सहभागिहरुको मन फिस टनेलले जितिरहेको छ । प्रवेश शुल्क १५० मात्रै रहेको उक्त टनेलमा दर्जनौ प्रजातिका माछाहरु देख्न पाईन्छ । वरिपरी पानीको टनेल , टनेल भित्र माछा तैरिएको दृश्यले सबैलाई लोभ्याउँछ। दबईको समुन्द्र मुनी रहेको टनेलको झल्को दिने गरी बनाइएको फिस टनेल अहिले मेलाको प्रमुख आकर्षण बन्न पुगेको हो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि आयोजना गरिएको बुटवल औद्योगिक व्यापार मेलामा सहभागिहरुको भिडभाडनै लागेको छ । औषत अन्य स्थानको तुलनामा विगतदेखीनै बुटवलको मेलामा धेरैको आकर्षणनै हुने गरेको छ ।

राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारले बुटवल मेलामा दर्शक तानीरहेको भएपनि अधिकांश मेला पुग्ने सहभागीहरुको आकर्षण फिस टनेल बन्न पुगेको छ । मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेलमा दर्शकको भिड लागेको हो ।

दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको हो ।बुटवलको मेलामा ठेकेदार.कम्पनी राजधानी राईडर्स नेपालले बाल उद्यान सहित फिस टनेल सञ्चालन गरिरहेको छ । मेलाको बाल उद्यान सञ्चालन गरिरहेको कम्पनीले मेला अवधिभरका लागि ५ सय बढि स्थानियलाई रोजगारी समेत दिईरहेको व्यवस्थापक कृष्ण शर्मा पौडेलले बताए । उनले दुबईमा लाखौँ रुपैयाँ खर्च गरेर हेर्न पर्ने फिस टनेल बुटवलमै देखाउन सक्दा आफूलाई कम्पनीको तर्फबाट धेरै खुसी लागेको बताए ।

बुटवलको मेलामा सांगितिक कार्यक्रम संगै बाल उद्यानमा समेत उत्तिकै आकर्षण देखिन्छ । मेला स्थल दिउसँको समयमा भन्दा साझँ विभिन्न लाईटिङ्गले रोमाञ्चक देखिन्छ । यस्तै , प्रत्येक पटक लगाईने बुटवलको मेलालाई केही फरक बनाउने कोशिष गरिदै आइएको मेला मुला आयोजक समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले बताए । उनले यस पटक विगत भन्दा धेरै पृथक र व्यवस्थित तरिकाले बुटवलको स्थायी प्रदर्शनी स्थल बुटवल मण्डपमा मेला लगाईएको बताए ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको यो २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ चलिरहेको छ । बुटवलमा पुस ३ देखि पुस १८ गते सम्म औद्योगिक व्यापार मेला सञ्चालन हुनेछ ।

१६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागि छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेको मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भैरहेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।