Shivam

दुई यात्रुलाई एक/एक लाख जरिवाना बुद्ध एयरको आपत्‌कालीन ढोका खोलेकाेमा

0
Burger

काठमाडौं । विमानको आपत्‌कालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको हो ।

जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको हो ।

बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौं (उडान संख्या ६१८)को उडान तयारीका क्रममा एक यात्रुले विमानको आपत्‌कालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त विमान उडेको थियो ।

यसैगरी काठमाडौंबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा आपत्‌कालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा क्रमशः एक लाख क्षतिपूर्ति तिराइएको थियो ।

आपत्‌कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपत्‌कालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउन पनि सक्छन् । कम्पनीले अनाकहमा आकस्मिक ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम एक लाख तिराइ तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ । रासस

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।