Shivam

सिसवोनीका दलित महिला सामूहिक खेती गरी आत्मनिर्भर बन्दै

0
Burger

सिरहा । सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनि स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् ।

खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताइन् ।

“लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौँ”, उनले भनिन् ।

उनि मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिइन् । उनले भनिन्‘सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ ।’

अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताइन् । यही समूहमार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ ।

अघिल्लो वर्षमात्रै माछा बिक्रीबाट रु डेढ लाख आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी रु ७५ हजार खुद नाफा भएको नन्दीलालले बताइन् । आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले जानकारी दिइन् ।

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरी रहेको छ ।

किसानलाई खेतीसम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताइन् ।

उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताइन् ।

वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।