Shivam

मन्त्री र कर्मचारीको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि

0
Burger

काठमाडौं । गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेससँग सात बुँदे सहमतिका आधारमा प्रधानमन्त्री बनेपछि पाँच महिना बितिसकेको छ । राजनीतिक स्थिरता, आर्थिक सुधार र संविधान संशोधनजस्ता ठूला उद्देश्यसहित बनेको सरकारप्रति जनताको अपेक्षा उच्च थियो । तर, पाँच महिना बितिसक्दा पनि सरकारले जनतामा विश्वासको वातावरण बनाउन नसकेको चौतर्फी आलोचना भइरहेको छ ।

प्रधानमन्त्री ओली आफैं मन्त्रीहरूको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकमै उनले कुनै पनि मन्त्रालयले जनताले महसुस गर्ने खालको काम गर्न नसकेको भन्दै निराशा व्यक्त गरे । ‘अपवादबाहेक कुनै मन्त्रालयले देखिने परिणाम दिन सकेको छैन,’ प्रधानमन्त्रीले बैठकमा भने ।

मन्त्रीहरूको निष्क्रियता र कर्मचारीतन्त्रको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले मन्त्रीहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काम गर्ने मन्त्रीको खोजी सुरु गरेको बताइन्छ ।

शुक्रबार साँझ सरकारका ५० भन्दा बढी सचिवलाई जावलाखेलस्थित स्टाफ कलेजमा भेला गरेर उनले कर्मचारीको दैनिक कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाए । काममा अप्ठेरो परे सहजीकरण गर्न आफू तयार रहेको उनको भनाई थियो । सार्वजनिक सेवाको गुणस्तर र विकास आयोजनाको प्रगति सुधार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले कानुनी अड्चनका कारण सुशासनमा बाधा सिर्जना गर्न नहुनेमा जोड दिँदै सुशासन कायम गर्ने र विकासका काम छिटो सम्पन्न गर्ने सरकारको लक्ष्यअनुसार अघि बढ्न आवश्यक रहेको बताए । उनले मन्त्रीहरूले सल्लाह दिएपछि कर्मचारीले त्यसलाई राजनीतिक हस्तक्षेपको रूपमा नबुझ्नुपर्ने उल्लेख गर्दै भने, ‘हामीले पनि राम्रो गर्नकै लागि काम गर्ने सोच बनाएका छौं ।’

छलफलमा सचिवहरूले राजनीतिक दबाबका कारण कर्मचारीमात्र कारबाहीको चपेटामा पर्ने र हरेक निर्णयमा मुद्दा खेप्नुपर्ने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘मन्त्रीहरूको चाहनाअनुसार काम गर्दा कारबाहीको डरले धेरैले निर्णय गर्न हिच्किचाउने गरेका छन्,’ एक सचिवले भने ।

सचिवहरूले विभिन्न मन्त्रालयबीच समन्वयको कमी, ऐन, नियम, र निर्देशिकाको मस्यौदामा असंगति, र छिटोछिटो हुने सरुवाका कारण कार्यसम्पादनमा समस्या भएको बताए । प्रधानमन्त्रीको सचिवालयका सहसचिव प्रेमप्रसाद आचार्यले बैठकमा सुधारका उपाय र कर्मचारीतन्त्रको कार्यशैलीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले जोड दिएको जानकारी दिए । ‘प्रधानमन्त्रीले सुधारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।