एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु
काठमाडौं । नेकपा एमालेको कमिटी समिति बैठक सुरु भएको छ । बैठक एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने जनाइएको छ ।
राजनीतिक प्रतिवेदनमा आगामी कार्य योजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका बताइएको छ ।
बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार वटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् ।