गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र, विशेषगरी गाजा सिटीलाई लक्षित गरी गरिएको आक्रमणलाई ‘खतरनाक र क्रूर’ भनिएको छ ।
मृत्यु भएका वा घाइते भएका मध्ये धेरै जना भग्नावशेषमा फसेका छन् र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुग्न र स्वास्थ्यलाभमा बाधा पुगेको छ । गाजामा प्यालेस्टिनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन्, जसलाई स्थानीय बासिन्दाहरूले असाधारण कठिन समयको रूपमा वर्णन गरेका छन् ।
वक्तव्यमा इजरायली सेनालाई यी ‘भयानक आक्रमण’ को लागि पूर्ण रूपमा जिम्मेवार ठह¥याइएको छ र इजरायललाई हतियार र राजनीतिक समर्थन प्रदान गरेकोमा अमेरिकी प्रशासनको आलोचना पनि गरिएको छ ।
यसले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्लाई यी ‘जघन्य अपराधहरू’ को दस्तावेजीकरण गर्न र अपराधीहरूको जवाफदेहीता सुनिश्चित गर्न स्वतन्त्र अनुसन्धान टोलीहरू पठाएर आफ्नो कानुनी र नैतिक दायित्वहरू पालन गर्न आह्वान गरेको छ ।
इजरायली रक्षामन्त्री काट्जले बुधबार हमासले बन्धकहरूलाई रिहा नगरे र इजरायलमाथि रकेट प्रहार गर्न बन्द नगरे ‘व्यापक बल’ प्रयोग गर्ने चेतावनी दिएपछि गाजामा इजरायली हवाई आक्रमण बिहीबार बिहान सुरु भएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा शत्रुता सुरु भएदेखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ । युद्धका कारण गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणबाट एक हजार २०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो र लगभग २५० जनाको अपहरण भएको थियो ।