लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआईका लागि पुनः बोलपत्र आह्वान
बुटवल, २२ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा विलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिदै उनले कुनै पनि आर्थिक चलखेल वा बहानामा जनताले दुःख पाउन नहुने उल्लेख गरे ।
त्यसै गरी पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले अबको टेण्डर प्रक्रियाबाट जसरी भए पनि एमआरआई मेशिन खरिद हुने उल्लेख गरे । ‘कुनै पनि बहानामा मेशिन खरिद प्रक्रिया रोकिँदैन, यसमा प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा अस्पताल प्रशासन प्रतिवद्ध भैसकेका छन् ।’–श्रेष्ठले भने, अब कुनै पनि हालतमा टेण्डर प्रक्रिया रद्द हुँदैन यदी त्यसो भयो भने सबै कानूनी प्रक्रिया सार्वजनिक गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।’
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले टेण्डर प्रक्रिया फेरी पनि रद्द भए जनताले अझ बढी समय दुःख पाउने बताए । उनले अस्पतालको क्षमता आवश्यक तथा पूँजीको आधारमा खरिद प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले मेशिन खरिद प्रक्रियालाई पारदर्शी गराएर अघि बढ्नपर्ने बताए । उनले जनताको स्वास्थ्यसँग जोडिएको संवेदनशील कुरालाई अनावश्यक गिजोल्ने र ढिलासुस्ती गर्ने काम ठीक नभएको उल्लेख गरे । पटकपटक प्रक्रिया रद्द गर्ने र खुलाउने गर्दा स्वास्थ्य सेवामा गम्भीर लापरवाही हुने बताउँदै उनले कसैले प्रश्न नउठाउने गरी यसपटकको टेण्डर प्रक्रियाबाट मेशिन खरिद गर्ने कामलाई सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र) रुपन्देहीका अध्यक्ष नारायण जि.सी. (निर्मल) ले एमआरआई मेशिन गरिदका लागि गरिएको टेण्डर प्रक्रिया फेरी पनि रोकिएमा वा स्थगित भएमा जनतालाई आन्दोलित गराउने चेतावनी दिएका छन् । ‘विभिन्न बहानाले मेशिन गरिद प्रक्रिया रोकिदा सेवाग्राहीले सास्ती पाएका छन् ।’–उनले भने, ‘अब पनि त्यस्तो भयो भने हामीले जनता उतार्छौ, आन्दोलन गर्छौं ।’
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी.ले अब पनि टेण्डर प्रक्रिया रद्द हुने र मेशिन खरिदमा विलम्ब भएमा सार्वजनिक रुपमा खबरदारी गर्न बाध्य हुने उल्लेख गरे। ढिलासुस्तीले जनताको स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित भएको उल्लेख गर्दै कुनै पनि हालतमा मेशिन खरिद प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले अस्पतालमा मेशिन ल्याउने कुरा धेरै लामो समयदेखि चर्चाको विषय भए पनि पूर्णता पाउन नसकेको गुनसो गर्दै छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए । यसलाई कुनै राजनीतिक स्वार्थको विषय नबनाई विधि र कानूनी प्रक्रिया पूरा गरी मेशिन खरिद गर्नुपर्ने उनले बताए ।
जसरी पनि एमआरई मेशिन ल्याउने प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल विकास समिति तथा अस्पताल प्रशासनको प्रतिवद्धता अनुसार पुनः बोलपत्र आह्वान गरिएको हो । अस्पतालमा एमआरआई मेशिन ल्याएर जनतालाई सहुलियत शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउन भएका प्रतिवद्धतालाई पूरा गर्न विगतमा देखा परेका कमीकमजोरीहरुलाई सुधार गर्दै प्राप्त सुझाव तथा छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको स्वास्थ्य मन्त्री खेम बहादुर सारुले बताए ।
मेशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा देखिएका प्राविधिक त्रुटीहरुलाई आश्यक छलफल, विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐनको अध्ययन तथा सरोकारवाला निकायहरुसँग छलफल गरी पुनः बोलपत्र आह्वान गरिएको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव बासुदेव उपाध्यायले बताए । उनले पारदर्शी, प्रतिष्पर्धी र मितव्ययी हुने गरी नयाँ प्रक्रियामा खरिद प्रक्रियालाई अघि बढाइएको उल्लेख गरे ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले विगतमा एमआरई मेशिन खरिद प्रक्रियालाई अघि बढाउँदा विभिन्न बहानामा भएका अवरोध र त्रुटीहरुलाई सच्याएर अघि बढेको दावी गरे । समयमा मेशिन खरिद गर्न नसक्दा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर महंगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न अस्पताल विकास समिति प्रतिवद्ध रहेको उल्लेख गरे । अस्पतालमा सेवाग्राहीको बढ्दो चापसँगै यहाँको सेवा विस्तार, गुणस्तर सुधार तथा प्रविधिमैत्री सेवा बनाउनका लागि अस्पताल विकास समितिले पहल गरिरहेको उनले बताए ।
विगत ४ वर्ष लामो समयदेखिको प्रयासमा पनि अस्पतालमा एमआरआई मेशिन ल्याउन नसक्नु दुःखद भएको बताउँदै अध्यक्ष श्रेष्ठले यसलाई सफल बनाउनका लागि यहाँका राजनीतिक दल, सामाजिक संघ–संस्था, मिडियाकर्मी तथा सरोकारवाला सम्बद्ध सबै पक्ष गम्भीर र प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले एमआरआई मेशिन खरिद भएमा सेवाग्राहीले निजी स्वास्थ्य संस्थामा गएर १६÷१७ हजार शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता अन्त्य भइ आधा मुल्यमा सेवा प्रदान गर्न सकिने उल्लेख गरे । त्यसै गरी अस्पतालमा सामाजिक सुरक्षा कार्यक्रमबाट सेवा लिन आउने बिरामी, लक्षित वर्ग, विपन्न तथा गरिव परिवारका लागि ठूलो राहत पुग्ने उल्लेख गरे ।
मेशिन खरिदका लागि यसअघि आह्वान गरिएको बोलपत्रमा समेत विज्ञहरुको सुझाव, सार्वजनिक खरिद ऐन, आपूर्तिकर्ता सम्पनीहरुको राय अनुसार स्पेसिफिकेशन तयार पारिएको भए पनि त्यसमा थप सुधार गर्दै सप्लायर्स कम्पनीहरुको अधिकतम सहभागिीता रहने गरी खरिद प्रक्रियालाई प्रतिष्पर्धी र पारदर्शी गराइएको जनाए । खरिद कार्यलाई अझ पारदर्शी र प्रतिष्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजातसहित आवश्यक राय सुझाव माग गरी प्राप्त निर्देशनको पालना गरिएको, राष्ट्रिय सतर्कता केन्द्रबाट समेत सुझाव माग गरिएको तथा सार्वजनिक खरिद ऐनलाई अक्षरस पालना गरी नयाँ प्रक्रियालाई अघि बढाइएको उल्लेख गरे । विगतमा समेत कुनै नियतवश नभइ केही प्राविधिक त्रुटी भएकाले यसपटक जसरी पनि मेशिन खरिद गर्ने उद्देश्यसाथ अघि बढिएको बताउँदै उनले सबैको सुझाव र सहयोगको अपेक्षा गरे ।
अस्पतालमा सेवा विस्तार कार्यक्रम अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना गरी पुरानो थिएटरबाट अन्य सेवातर्फको शल्यक्रिया हुने व्यवस्था मिलाइएको, अनलाइन टिकेटिङ सेवा, अनलाइन भुक्तानी सेवा, टिकट काउण्टरको संख्या वृद्धि लगायतका विभिन्न योजनाकासाथ अघि बढेको उनले उल्लेख गरे । लुम्बिनी प्रदेश मात्र नभइ अन्य प्रदेशका जिल्लाहरुबाट समेत दैनिक हजारौंको संख्यामा सेवा लिन आउने अस्पतालमा उपकरण तथा प्रविधिले सम्पन्न हुन आवश्यक रहेको उनले बताए ।
जनशक्तिको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरण थप गरी सेवालाई गुणस्तर गराउन अस्पताल प्रशासन प्रतिवद्ध रहेको बताउँदै उनले यहाँका सबै सरोकारवाला निकायले सहयोगको अपेक्षा व्यक्त गरे ।
लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रुपमा रहेको यस अस्पताललाई १२ सय शैयामा स्तरवृद्धिका लागि अण्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भइरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्छन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्यांक छ ।