Shivam

पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

0
Burger

भदौको उकुसमुकुस गर्मी छँदैथियो । अनि यात्रा गर्नुपर्ने थियो बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्डको दुरावस्था छिचोल्दै । धुलो खाँदै भाइ राजु झल्लुप्रसाद (राजेन्द्र भट्ट)का साथ बसबाट तनहुँको दमौली बजारतर्फ लागियो ।

मेरा लागि तनहुँ सदरमुकाम दमौली बजारको यात्रा पहिलो थियो । दमौली बजारका बारेमा मेरो मनका अनेक खालमा दृश्य बारम्बार आइरहे । मैले नि मनमनै यस्तो होला ? उस्तो होला भन्दै बजार नपुगुन्जेल कल्पिरहें ।

बसको यात्रा भएकाले मलेखुबाट यात्रु ओराल्ने र चढाउने क्रम जारी नै थियो । थानकोटबाट मलेखुसम्म पुग्दा सडकजामको सास्तीको त कुरै नगरौं । गर्मी मौसम, त्यसमाथि सडक नै नदेखिने गरी निरन्तर उडिरहेको धुलो । बसका झ्याल लगाए पनि कताकताबाट धुलोको मुस्लो छिरिहाल्ने । मुखमा मास्क लगाए पनि सास फेर्न कठिन महसुस हुने ।

अनेक सास्तीबीच यात्रारत बस मर्स्याङ्दी र त्रिशूलीको दोभानमा रहेको मुग्लिङ पुल तरेर आँबुखैरेनीतर्फ अघि बढ्यो । दामोदर हिमालबाट उत्पत्ति भएको मर्स्याङ्दी नदीको तीरैतीर हाम्रो बस अगाडि बढ्यो । आँबुखैरेनी पुगेपछि एक होटलमा चिया खाजाका लागि रोकियो । भाइ राजेन्द्र र मैले पनि चिया लियौं । करिब २० मिनेटपछि बस फेरि अगाडि बढ्यो ।

मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका थिए । वनपाखाहरू पनि हरियाली थिए । मर्स्याङ्दीमा निरन्तर बगिरहेको कञ्चन पानीले आँत भिजाइरहेको भान भयो । नदी बगिरहेको ठीक पारिपट्टी गोरखा जिल्लाका पहाडी भेगको दृश्य पनि कम मनमोहक थिएन । राजमार्ग छेउछाउका केही कलात्मक र ऐतिहासिक घरहरूले मनमा उत्साह भरिरहेको थियो ।

राजमार्गको ठाउँठाउँमा कालोपत्रे भइसकेको सडकमा बस दौडिंदाको मज्जा बेग्लै थियो, सँगै कालोपत्रेका लागि तयारी भइरहेको सडकका कारण बेलाबेला भोग्नुपरेको सास्ती पनि उत्तिकै ।

यही बीचमा बसका कन्डक्टरले दमौली बजार आइपुगेको जानकारी दिए । उनले जानकारी दिएको पाँच-सात मिनेटमा बस दमौली बजारको स्टपमा पुगेर रोकियो । झोला बोकेर हतारिंदै हामी दुई भाइ बसबाट ओर्लियौं ।

डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत नवीन विश्वकर्माको निम्तामा हामी त्यहाँ पुगेका थियौं । बसबाट झर्नासाथ नवीन सरलाई आफूहरु आइपुगेको जानकारी दिएँ । नवीन सरले डिभिजन वन कार्यालयको समीक्षा बैठकमा रहेको जानकारी दिनुभयो । उहाँले कार्यालय जाने लोकेसन दिई बस्दै गर्न आग्रह गर्नुभयो । म र भाइ राजेन्द्र बस स्टपबाट झोला बोकेर दमौली बजार क्षेत्रतर्फ प्रवेश गर्‍यौं । करिब पाँच मिनेट हिंडेपछि एक बेकरी सपमा पसेर फ्रेस भयौं । कालो कफी र बेकरी मगाएर खाएपछि बेकरीमै काम गर्ने बहिनीलाई डिभिजन वन कार्यालय जाने बाटो सोध्यौं ।

हिंड्दै जाने क्रममा एउटा खाली ट्याम्पो आइपुगो । ट्याम्पो चालक दाइले १० मिनेट पनि नलगाई डिभिजन वन कार्यालय तनहुँको गेटै अगाडि पुर्‍याइदिए । म र भाइ राजेन्द्र सरासरभित्र प्रवेश गर्‍यौं । कार्यालय अगाडि रहेको काठले निर्मित गोलो चौतारोमा पुगेर झोला बिसायौं । कार्यालयबाट एक जना कर्मचारी निस्केर हामीलाई स्वागत गर्दै पाहुनाघरतर्फ लिएर गए । पाहुनाघरको कोठामा बसेको करिब दुई घण्टापछि नवीन सर आइपुग्नुभयो ।

नवीन सर आएपछि उहाँका स्थानीय पाँच जना युवासाथीहरु पनि केहीबेरपछि गोलो चौतारोमै आइपुग्नुभयो । उहाँहरूसँगको परिचयपछि नवीन सरले गर्मी मौसम रहेकाले कार्यालयको ठीक उत्तरतर्फको एक फलफूल पसलमा लिएर जानुभयो । सो पसलमा फलफूलको फ्रेस जुस अनि फलफूल खाएपछि नवीन सरसँगै हामी व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई भेट्न उहाँको कार्यकक्षमा पुग्यौं । केही समयको भलाकुसारीपछि हामी तीनै जना वन डिभिजन कार्यालयतर्फ नै फर्कियौं ।

त्यसबेला साँझको ६ बजिसकेको थियो । हामी कार्यालय परिसरमा पुगेको केहीबेरमै स्कारपियो गाडी आइपुग्यो । नवीन सरले ‘लु प्राकृतिक चिसो खान मानुङकोट जाऔं’ भन्ने आग्रह गर्नुभयो । नयाँ-नयाँ ठाउँ घुम्न रुचाउने हाम्रा लागि सुखद् कुरा थियो ।

महाभारत पर्वत शृङ्खलामा रहेको रमणीय स्थल मानुङकोटतर्फ हाम्रो जम्बो टोली चढेको स्कर्पियो अगाडि बढ्यो । मगर जातिको बाहुल्य रहेको मानुङकोट करिब ३० मिनेटको यात्रापछि हामी पुग्यौं । मानुङकोट पुग्नुअघि सडकका दायाँबायाँ देखिएको रमणीय दृश्यहरूलाई कहिले नमेटिने गरी स्मृतिका पानामा कैद गरियो ।

सूर्योदय र कुहिरोका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गइरहेको मानुङकोटको मुख्य प्रवेशद्वार नजिकै पुगेर हामी चढेको स्कर्पियो रोकियो । साँझ छिप्पिंदै रात पर्न सुरु गरिसकेकाले हामी हतारिंदै स्कर्पियोबाट ओर्लियौं । नवीन सर अघि लाग्नुभयो । उहाँकै पछि पछि हामी लाग्यौं । केही समयको पैदल यात्रापछि मानुङकोटको मुख्य स्थानमा पुग्यौं ।

हाम्रो टोली मानुङकोट पुग्दा घाम अस्ताउन लागेको थियो । अस्ताउँदै गरेको घामको किरणले हामीलाई ऊर्जा थप्ने काम गर्‍यो । चिसो सिरेटोले मुटु नै हल्लाइरहेको थियो । मानुङकोटमा रहेका केही होटल, क्याफे र  रिसोर्ट युवायुवतीका जोडीहरूले भरिएका थिए । मानुङकोटबाट ठीक तल तनहुँ बजार, पोखरा जाने सडकमा बलेका झिलिमिली बत्तीहरूले रात छिप्पिंदै गएको सङ्केत गरिरहेका थिए । आकाशतर्फको रङ क्रमशः बदलिंदै गइरहेको थियो । हामी पनि सोही स्थानमा निर्माण गरिएको टावरमा चढ्यौं । आनन्दमय वातावरणमा रमाउँदै हामीले मानुङकोटका विषयमा लामै बहस गर्‍यौं । रातको साढे ८ बजेपछि टावरबाट तल झरेर तातो चिया, कफी खायौं । दिनभरिको गर्मी र धुलोमय सकसपूर्ण यात्रालाई मानुङकोटको बसाइँमा भुलिएका हामीलाई भोलिपल्ट बिहानै तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको धार्मिक स्थल छाब्दी बाराही मन्दिर समेत पुग्नुथियो । त्यसपछि पुनः मानुङकोट आउने मनमनै वाचा गरी हामी दमौली डिभिजन वन कार्यालयमा फर्कियौं ।

बिहान सबेरै उठेर नवीन सरको नेतृत्वमा हामी डिभिजन वन कार्यालयबाट मोटरसाइकलमा छाब्दी बाराही मन्दिर दर्शनका लागि निस्कियौं । नवीन सरले व्यवस्थापन गरिदिनुभएको मोटरसाइकलमा हामी दुई भाइ चढ्यौं भने नवीन सर आफ्नै मोटरसाइकलमा अगाडि लाग्नुभयो । हामी नि नवीन सरलाई फलो गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली घर हुँदै अगाडि बढ्यौं । सिमसिम वर्षाले हाम्रो बिहानीको यात्रालाई चिसोमय बनाएको थियो । करिब ७ किलोमिटरको मोटरसाइकल यात्रापछि हामी छाब्दी बाराहीको प्रमुख प्रवेशद्वारभन्दा तलको बजारमा पुग्यौं ।

मन्दिर भएको स्थानबाट करिब ७०० मिटर तल नै मोटरसाइकल पार्किङ गरेर पैदल हिंड्नुपर्ने रहेछ । हामीले पनि सोही अनुसार मोटरसाइकल पार्किङ गरेर पैदलयात्रा तय गर्‍यौं । हामी छाब्दी मन्दिरको उकालो यात्रा गर्दा धेरै भक्तजन मन्दिरको दर्शन गरेर फर्किंदै थिए ।

मूल प्रवेशद्वार अगाडि नै विभिन्न रङका जिउँदा माछाले हाम्रो ध्यानलाई तानिहाल्यो । केही समय ती माछाहरूको दृश्य हेरेर हामी मन्दिरको मुख्य क्षेत्रमा प्रवेश गर्‍यौं । मगर जातिका पुजारीहरू भक्तजनहरूसँगै विधिपूर्वक गरिने पूजाआजामै व्यस्त थिए । हामीले पनि लगेका फूल, प्रसाद दिएर नियमअनुसार पूजाआजा गर्‍यौं ।

छाब्दी बाराही उत्पत्तिको किम्वदन्ती

छाब्दी बाराहीको उत्पत्ति कथामा सपना र पौराणिक तथ्यको मिश्रण छ । मादी नदीमा एउटा माछाले शिवजीको स्खलित वीर्य खाएपछि गर्भवती भइन् । माछालाई मादी तीरको स्थानीय मछुवावरले जालमा पारेर छिर्दा एक कन्या भेट्यो । मत्स्यको पेटबाट निकालिएको मत्स्य कन्यालाई माझीले आफ्नै छोरी झैं हुर्कायो । आफ्नो अशक्ततापछि आफ्नी छोरी (धर्मपुत्री) लाई डुङ्गा सुम्पिदिएर मत्स्य कन्या मादी तीरमा डुङ्गा खियाउन थालिन् । माझी कन्याको शरीरबाट आएको मत्स्य गन्धका कारणलाई उनलाई ‘मत्स्यगन्धा’को नाम मात्रै दिएनन्, उनीसँग कामपूर्ति पनि गरे, जसबाट फलस्वरूप पराशर–पुत्र व्यास जन्मिए । सत्यवतीको आग्रहमा अम्बिका र अम्बालिकासँग ‘व्यास नियोग’ भएर ‘पाण्डु’ र ‘धृतराष्ट्र’को जन्म भएको कथा प्रचलित छ ।पौराणिक कथा अनुसार उनैले आफ्ना अविवाहित आमाका लागि छाब्दीमा देवीका रूपमा रहने व्यवस्था मिलाए । ती मत्स्य कन्या भेटिएको कुण्डको नाम ‘मत्स्य कुण्ड’ भयो । र, ती मत्स्य कन्या छाब्दी बाराहीको रुपमा पुजिन थालिन् भन्ने जनविश्वास छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।