Shivam

शरीरको प्रतिरोधात्मक क्षमता बढाउन के गनुपदछ त ?

0
Burger

 

शरीरका विभिन्न अंगहरूको फरक-फरक जिम्मेवारी हुन्छ । शरीरलाई सुचारु रुपमा चलायमान राख्न मात्र हैन, यी अंगहरूमा कुनै समस्या आएमा त्यसलाई समाधान गर्न पनि शरीरमा केही तत्वले काम गर्छन् ।

सरल शब्दमा त्यो योद्धालाई प्रतिरक्षा प्रणाली भनिन्छ । यसले हामीलाई सानोतिनो समस्याबाट बचाउँछ । तर जब प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तब कुनै पनि व्यक्ति धेरै चाँडै बिरामी पर्न थाल्छ । कोही बारम्बार बिरामी हुने वा हल्का मौसम परिवर्तन हुनेबित्तिकै सानो समस्याले पनि गम्भीर रुपमा थला पर्छन् भने त्यसको कारण प्रतिरोध शक्ति कम भएको बुझिन्छ ।

यस्तोमा केही उपाय अपनाउन सकिन्छ, जसले प्रतिरोध क्षमतालाई बलियो बनाएर रोगबाट जोगाउन मद्दत पार्छ ।

सन्तुलित खाना

भनिन्छ, हामी जे खान्छौं त्यसले नै शरीर बन्छ । प्रतिरोध क्षमता कमजोर बनाउन के खाइरहेका छौं त्यसले पनि भूमिका खेल्छ । प्रतिरोध क्षमता बलियो पार्न स्वस्थ खाना आवश्यक छ । तर ती खाना सन्तुलित मात्रामा खानुपर्छ ।

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थमा प्रकाशित रिपोर्टअनुसार शरीरको प्रतिरोधात्मक क्षमता बढाउन खानामा भरपुर मात्रामा भिटामिन, खनिज, प्रोटिन र फाइबर आवश्यक छ । विशेषगरी भिटामिन सी प्राप्त गर्न सुन्तला, कागती र अमला, भिटामिन ईका लागि बदाम, ओक्खर जस्ता ड्राइफ्रुट्स, जिंकका लागि सूर्यमुखीको बीउ र फर्सीको बीउ र आइरनका लागि पालुङ्गो, ब्रोकाउली जस्ता खानेकुरा दैनिक सीमित मात्रामा खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ ।

पर्याप्त निद्रा

निद्राको प्रत्यक्ष प्रभाव प्रतिरोध क्षमतामा पर्छ । पर्याप्त निद्राले शरीरमा भएको विषाक्त पदार्थ निकाल्न र कोष मर्मतका लागि सहयोग गर्छ । सात वा नौ घण्टा सुत्नु आवश्यक छ ।

नियमित व्यायाम

व्यायामले शारीरिक स्वास्थ्यलाई बलियो बनाउँछ । समग्र शरीर बलियो हुनु भनेको नै प्रतिरोध क्षमता बलियो हुनु हो । एक प्रतिवेदनका अनुसार तीव्र हिंड्ने, योग, पौडी खेल्ने र साइकल चलाउने जस्ता नियमित हल्का व्यायामले शरीरमा रक्तसञ्चार बढाउँछ, जसकारण हाम्रो प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

तनाव व्यवस्थापन

दैनिक मानसिक तनावले प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउन सक्छ । तनावमा शरीरले छिट्टै कोर्टिसोल उत्पादन गर्न थाल्छ र यसले प्रतिरक्षा प्रणालीलाई हानि पुर्‍याउँछ । तसर्थ, तनाव व्यवस्थापन गर्ने तरिका खोज्नु राम्रो हुन्छ । तनावलाई ध्यान, योग र पर्याप्त निद्राबाट व्यवस्थापन गर्न सकेमा प्रतिरक्षा प्रणाली स्वस्थ रहन्छ ।

पर्याप्त पानी पिउने

पानीले शरीरको हरेक अंगलाई आवश्यक पोषक तत्व प्रदान गर्छ । जति पानी खायो त्यति शरीरमा भएको विषाक्त हटेर जान्छ ।

शरीरमा पर्याप्त मात्रामा पानी नपुगेमा प्रतिरक्षा प्रणालीमा नकारात्मक असर पर्छ । त्यसैले दिनमा कम्तीमा आठदेखि १० गिलास पानी पिउने बानी बसाल्नुपर्छ ।

प्रोबायोटिक्सलाई आफ्नो आहारको हिस्सा बनाउने

दही, गुन्द्रुक, सुकाएको अचारमा प्रोबायोटिक्स भरपुर मात्रामा पाइन्छ । प्रतिरोध क्षमता यथावत् राख्न प्रोबायोटिक पनि जरुरी हुन्छ । प्रोबायोटिकले आन्द्रामा स्वस्थ ब्याक्टेरिया उत्पन्न गर्छ । पाचन प्रक्रिया सहज रूपमा जारी रहन्छ । प्रतिरक्षा प्रणालीले ठीकसँग काम गर्ने नगर्ने भन्ने कुरा लगभग ७० प्रतिशत आन्द्राका सक्रियतामा निर्भर रहन्छ ।

धुम्रपान र रक्सी नखाने

धुम्रपान र मदिरा सेवन गर्ने बानी भएकामा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यी दुई तत्वमा हुने रसायनले प्रतिरोधात्मक कोषिकालाई मार्ने काम गर्छ । त्यसैले शारीरिक रुपमा बलियो बन्न धुम्रपान र रक्सी सेवन गर्नु हुँदैन ।

घाममा बस्ने

सूर्यको किरणबाट भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डीले शरीरलाई संक्रमणसँग लड्ने शक्ति दिन्छ । त्यसैले बिहान र अपरान्हको घाममा बस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सरसफा

सरसफाइको कमीले पनि बाह्य हानिकारक कीटाणु शरीरमा प्रवेश गरी आक्रमण गर्न सक्छ । फलस्वरुप विभिन्न स्वास्थ्य समस्या देखा पर्छ । जर्नल अफ इन्फेक्सनमा प्रकाशित एक रिपोर्टअनुसार विश्वभर हुने आधा संक्रमण र रोगहरूमा सरसफाइले ठूलो भूमिका खेल्छ । त्यसैले सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

फलफूल र तरकारीलाई राम्रोसँग पखालेर खाने, हातखुट्टामा फोहोर लागे सफासँग धुने, सफा कपडा लगाउने, सुत्दा सफा कपडा ओछयाउने, धुवाँधुलोमा हिंड्दा मास्क लगाउने बानी बसाल्नुपर्छ ।

भिटामिन र सप्लिमेन्ट लिने

यदि खाएको खानाबाट पर्याप्त पोषण नपाइरहेको अनुभव हुने, थकान, शरीर कमजोर भइरहेको अनुभव भएमा शरीरलाई आवश्यक भिटामिन नपुगेको हुनुपर्छ । यस्तोमा चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकले लक्षणअनुसार आवश्यक परीक्षण र भिटामिन सप्लिमेन्ट सिफारिस गर्न सक्छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।