एमालेबाट निकालिएपछि देश दौडाहामा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट निष्काशित डा.भीम रावल अहिले ‘मातृभूमि जागरण अभियान’का लागि देश दौडाहामा रहेका छन् ।
गत पुस १० गते बसेको नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले एमालेका पूर्व उपाध्यक्ष डा.रावललाई पार्टीबाट निष्काशन गरेको थियो ।
पार्टी हितविपरित अभिव्यक्ति दिँदै हिँडेपछि रावललाई पार्टीको संगठित सदस्यताबाट निष्काशन गरिएको नेकपा एमालेले जनाएको छ । त्यसक्रममा नेकपा एमालेले स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटि सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय समेत गरेको थियो ।
पूर्व गृहमन्त्री समेत रहेका रावल पहिलेदेखी नै नेतृत्वसंग असहमति जनाउँदै आएका थिए । चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा रावल केपी शर्मा ओलीसंग अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।
तर,रावल ओलीसंग पराजित हुन पुगे । एमालेले ओलीसंग अध्यक्षमा चुनाव नलड्न आग्रह गरेको थियो । उनी नेतृत्वसंग पार्टी सञ्चालन,लगायत विषयमा असहमति जनाउँदै आएका थिए ।
एमालेबाट निष्काशनमा परेपछि रावलले गत पुस १५ मा सुदुरपश्चिमका नेताहरुसंग छलफल समेत गरेका थिए । उनले नेपाली कांग्रेसबाट निष्काशित कर्ण मल्ल (पूर्व सुदुरपश्चिम प्रदेश सभा सदस्य) र सुदुरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा.तारा जोशीसंग भेट गरेका थिए
स्वतन्त्र सांसद जोशी यसअघि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध थिए । त्यसक्रममा उनीहरुबीच आगामी नयाँ राजनीतिक यात्राका विषयमा छलफल भएको थियो । आगामी राजनीतिक यात्रामा संगै जाने विषयमा छलफल भएको मल्लले बताए ।
लामो समयदेखी पार्टीमा योगदान दिएका डा.भीम रावल नेकपा एमालेबाट निकालिएपछि अहिले ‘मातृभूमि जागरण अभियान’ का क्रममा देश दौडाहामा छन् । उनले पुष १७ मा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए ।
रावलले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट ‘मातृभूमि जागरण अभियान’को सुरुवात गरेका हुन् । झापाबाट अभियानको सुभारम्भ गरेका रावलले त्यसपछि इलाम, मोरङ, सुनसरी लगायत जिल्लामा अभियान सञ्चालन गर्ने बताइएको छ ।
डा.रावलले आफुलाई पार्टीबाट निष्काशन गर्ने केपी शर्मा ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश,स्वेच्छाचारी र तानाशाही प्रवृत्ति रहेको बताएका छन् ।
उनले अभियानबाट देश र जनताको हकहितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।
‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,’ उनले भनेका छन् ।
देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।