Shivam

भूकम्पले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ?

0
Burger
(250107) — XIZANG, Jan. 7, 2025 (Xinhua) — Local police officers check an earthquake-affected area in Qutang Village of Dingri in Xigaze, southwest China’s Xizang Autonomous Region, Jan. 7, 2025. Thirty-two people have been confirmed dead and 38 injured during the 6.8-magnitude earthquake that jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time), according to regional disaster relief headquarters. (Xinhua)

२४ पुस, काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन् । “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उनले भने, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।”

कार्कीका अनुसार भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ । डा. कार्कीले भने, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।”

उनले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उनले भने, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।”

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।