भैरहवामा शनिवारदेखी राष्ट्रपति रनिङ शिल्ड
भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखि हुदैछ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुदैछ ।
सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराउदै सबै तयारी पूरा भएको जनाएको छ ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको नगर प्रमुख इस्तियाक अहमद खाले पत्रकार सम्मेलनमा बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्य रनिङ शिल्डको रहेको उनले जानकारी दिए ।
प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् । भलिवल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ ।
त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ । तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन् ।
प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरुको सहभागिता रहने छ । सवै ईभेन्ट तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिईने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए ।
पत्रकार सम्मेलनमा नगर पालिकाका उप प्रमुख उमा अधिकारी , प्रमुख कार्यकारी अधिकृत जनक थापाले भनाइ राखेका थिए ।प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।