रविको थुनछेक बहस आज, होलान् त रिहा ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पुनः अदालतमा उपस्थित हुने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो ।
हिजो थुनछेक बहस नसकिएका कारण उनलाई हिरासतमा पठाइएको थियो । योसँगै रवि थुनछेक बहस नसकिएसम्म प्रहरीको नियन्त्रणमा रहने छन् । उनी जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहने भएका छन् । सरकारी वकिल पक्षले लामिछानेको बयान अध्ययन गर्न समय आवश्यक रहेको जनाउँदै थुनछेक बहस अगाडि नबढाउन आग्रह गरेपछि इजलासले लामिछानेलाई प्रहरी जिम्मा लगाउने निर्णय गरेको थियो ।
बयानपछि लामिछानेले परिवारको जिम्मा लगाउन आग्रह गरे पनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउन उपयुक्त ठहर गरेका हुन् । अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए ।बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा गर्ने भन्ने आदेश अदालतबाट आउनेछ ।