लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी
काठमाडौं । क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ ।
अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबीचमा उनीहरूले तीनवटा डढेलो नियन्त्रण गर्ने काममा उल्लेख्य प्रगति गरेको बताइएको छ । सप्ताहान्तमा हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन् । उक्त हुरीको गति प्रतिघण्टा ९६ किलोमिटरसम्मको हुन्छ ।
गत मङ्गलवारदेखिको यस विपद् नियन्त्रणको प्रयासमा जुटेका स्थानीय अग्निनियन्त्रकहरूलाई अन्य आठ राज्यका साथै क्यानडा र मेक्सिकोका सहायताकर्ताहरूले साथ दिइरहेका छन् । लस एन्जलस सहरका स्वास्थ्य अधिकारीहरूले आइतवारसम्म मृतकको सङ्ख्या २४ पुगेको बताएका छन् । अधिकारीहरूले यसअघि १६ जनाको हराइरहेको बताएका थिए । यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा बढ्ता आर्थिक क्षति गराउनेमध्येमा समेत पर्ने देखिएको छ ।
आइतवार मूल्याङ्कनकर्ताहरूले यसको प्रारम्भिक क्षतिको अनुमानलाई बढाउँदै त्यो २५० देखि २७५ अर्ब अमेरिकी डलरबीच हुने बताएका छन् । अग्नि नियन्त्रकहरू ठूला आगलागी नियन्त्रणमा लिने प्रयास सुरु गर्दै गर्दा अधिकारीहरूले आउन लागेको नयाँ हुरीले सम्भावित रूपमा विनाशकारी हावा सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।
पूरै एलए काउन्टीलाई सजग अवस्थामा राखिएको छ । ;दुर्भाग्यवश हामी अब र बुधबार बीचमा केही सम्भावित विनाशकारी हावाको अवस्थाका कारण ‘रेड फ्ल्याग’को अवस्थामा फर्किरहेका छौँ । मङ्गलवार सबैभन्दा ठूला हुरी आउने अपेक्षा गरिएको छ,’ पसाडेना अग्नि प्रमुख चाड अगस्टिनले भने ।
एलए सहरका अग्नि नियन्त्रण सम्बन्धी प्रमुख क्रिस्टिन क्रोलेले घर छाड्नुपर्ने हुन सक्ने अवस्थामा राखिएका मानिसहरूलाई चेतावनी जारी हुँदाका अवस्थामा भाग्नका लागि तयार रहन आग्रह गरेका छन् । उनले सहायताकर्ताहरूलाई अवरोध नहुनका लागि सक्दो सडक र आसपास नरहन आग्रह गरेका छन् । सअनिवार्य रूपमा खाली गराइएका क्षेत्रबाट लुटपाटमा संलग्न कम्तीमा २९ जना मानिसहरूलाई पक्राउ गरिएको छ जसमध्ये दुईजना अग्नि नियन्त्रकको पोसाकमा थिए ।
अधिकारीहरूका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा यतिखेर १४ हजार अग्नि नियन्त्रकहरू सक्रिय छन् जसलाई ८४ वटा विमान र १,३५४ वटा दमकलहरूले सघाइरहेका छन् । अनिवार्य रूपमा घर छाड्नुपर्ने आदेशका कारण अन्यत्र सारिएका मानिसहरूको सङ्ख्या घटेर यतिखेर १ लाख पाँच हजार पुगेको छ । अझै ८७ हजार मानिसहरूलाई घर छाड्नुपर्ने हुन सक्ने भनिएको छ । -बीबीसी