भारतीय आभेरलोडका सवारीले नेपाली सडक पुर्वाधार ध्वस्त
जरिवाना तिराएर ओभरलोडलाई बैद्य गराउँदा नेपाली व्यवसायी मारमा


बुटवल । भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।
यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवसायीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमन भएको निजी क्षेत्रको करोडौँको लगानी समेत जोखिममा परेको छ । यही विषयलाई जानकारी गराउन सोमवार भैरहवामा लुम्बिनी प्रदेशका यातायात व्यवसायीले सम्युक्त रुपमा पत्रकार सम्मेलन गरी समस्या र समाधानका वारेमा जानकारी गराएका हुन ।
गत शुक्रवार बुटवल नारायणगढ सडकको नवलपरासी(बर्दघाट सुस्ता पूर्ण)को विनय खोलाको पुल भारतीय ओभरलोड गाडीकै कारण भासिन पुगेको थियो । भारतीय हेभी ट्रकले ठक्कर दिंदा पुल भाँचिएको बताएको छ । पुस २६ गते दिउसो एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीयनम्बर प्लेटको ट्रक पुलबाट पूर्वतर्फ पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो । उक्त भारतीय ट्रकले हेभी जेनेरेटर मेसिन बोकेको थियो ।
यस्तै , दुई वर्ष अघि सोही सडकको रुपन्देहीको खेरेनीमा रहेको पुल पनि ओभरलोडकै कारण भासिन पुगेको थियो । यी दुई पुल केही उदाहारण मात्रै हुन् । नवनिर्मित बुटवल बेलहिया सडकको भैरहवा खण्डमा सडकनै ओभरलोडको कारणले धसिएर विग्रन गएको थियो । केही साता अगाडी मात्रै बेलहिया देखी भैरहवाको बुद्ध चोक सम्मको सडक पुननिर्माण गरिएको लुम्बिनी ट्रक व्यवासी संघ भैरहवाका अध्यक्ष विष्णु खरेलले बताउनु भयो ।
मालवाहक ट्रक व्यवसायीले विगत देखीनै भारतीय ओभरलोडका ढुवानी सवारी साधनका बारेमा सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन् । भारतीय ढुवानीका सवारी साधनहरूले नेपालको सडकमा अत्यधिकओभरलोड गरेर मालवाहनका सवारी साधनको दुरुपयोग गरिरहेका छन्। यो समस्या विशेष गरी सीमानाका क्षेत्र र प्रमुख हाइवेमा देखिदैँ आएको छ । ओभरलोड भएका सवारी साधनहरूले नेपालको सडक पूर्वाधारमा ठूलो दबाब सिर्जना गरेको कारण सडकको गुणस्तर बिग्रिरहेको , दुर्घटनाको दर बढिरहेको ट्रक व्यवासयी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले बताउनु भयो ।
सडक डिभिजनले निर्धारण गरेको नेपाली सडकको बनावट र भार वहन क्षमता ४० टन मात्र रहेको छ । यस्तै, ६ चक्के ट्रकले १० टन , १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन सम्म मात्रै लोड बोक्न पाउने र नेपाली सडकले थाग्न सक्ने भार रहेको छ । तर सिमावर्ती नाकाबाट नेपाल भित्रने भारतीय माल वहाक सवारीले ९० टन सम्मबोकेर हिड्ने गरेका छन् ।
यातायात व्यवस्था ऐनमा भन्सार विन्दुमै ओभरलोडका गाडीहरु रोक्नु पर्ने र नेपाली गाडीमा भार खनाएर मात्र लैजानु पर्ने व्यवस्था छ । तर भन्सार प्रशासन र प्रहरी प्रशासनको उदासिनताले कार्यान्वयनमा आउन सकेको छैन । सवारी ओभरलोड हुँदा जरिवाना गराएर उमुक्ति दिइदै आइएको लुम्बिनी प्रदेश यातायात व्यवसायी समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।
ओभरलोड सवारी साधनले सडकको सतहलाई चाँडै बिगार्दछ, जसले गर्दा सडकको मर्मत र संरक्षणका लागि नेपाल सरकारको अतिरिक्त लगानी भैरहेको छ ।अत्यधिक ओभरलोडिङको कारण दुर्घटनाको संभावना बढाउने गर्दछ जसले यात्रु र चालकहरूको जीवनमा खतरा पुग्ने गरेको छ ।यसरी ओभरलोड गरेर भारतीय सवारी साधनहरू सञ्चालन गर्नाले नेपाली यातायात व्यवसायीलाई गम्भीर असर परेको छ।
भारतीय मालवाहक सवारी साधनहरुले ओभरलोड गरेर सडक पूर्वाधार विगार्नुको साथै नेपाली ट्रक व्यवसायीहरुको पेशा समेत संकटमा परेको छ । भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा कार्यान्वयन नहुँदा नेपाली ट्रक व्यवासयीहरुले विजनेस नपाउने र ट्रक व्यवसायमा भएको निजी क्षेत्रको करोडौँको लगानी समेत जोखिममा परेको पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले गुनासो गर्नु भयो ।
नेपाली व्यवसायीहरुले ट्रक ओभरलोडिङ नियन्त्रण गर्न ,कडाइका साथ अनुगमन र कारबाही गर्न , भन्सार विन्दुमै पल्ट्रीको व्यवस्थालाई कार्यान्वयन गर्न जोडदार माग गरेका छन् । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा बाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तु , राप्ती अञ्चल संयूक्त ट्रक व्यवसायी संघ दाङ्ग , भेरी ट्रक व्यवसायी संघ, नेपालगञ्ज र साना तथा मझौला ढुवानी व्यवसायी समिति बुटवल, रुपन्देहीको एक्यवद्धता रहेको थियो ।

