पार्टी एकता गर्न समाजवादी मोर्चाका चार दल सकारात्मक, माघ १६ गते काठमाडौँमा कार्यक्रम हुने


काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
‘वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबै एकमत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने आजको आवश्यकता छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक छौँ । प्रचण्डजी, माधवजी र विप्लवजीको पनि ढिलोचाँडो वामपन्थी शक्ति निर्माण गर्नेमा विमति छैन’, यादवले भने ।
नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पनि वामपन्थी शक्तिहरू एक्लाएक्लै हिँड्नुभन्दा
एउटै समाजवादी केन्द्र निर्माण गरेर जाऊँ भन्नेमा प्रचण्ड, माधव, विप्लव सकारात्मक देखिएको जानकारी दिए । विगत १९ महिनादेखि एउटै मोर्चामा सहकार्य गर्दै आएका माधवलाई पार्टी एकताका लागि प्रचण्डले पहिले नै प्रस्ताव राखेका थिए । तर वैचारिक, सैद्धान्तिक तथा सांगठनिक रूपमा स्पष्ट नभएसम्म पार्टी एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको छ ।
मंसिरको पहिलो हप्ता बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल माओवादीलगायत अन्य वामपन्थी शक्तिसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको थियो । तर विचार मिल्ने दलसँग भविष्यमा हुने एकताका लागि ढोका खुलै राखेको थियो । यता नेसपा र नेकपाले यसअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका छन् ।
