बाह्रबीसे बजार आगलागीले २ करोडभन्दा बढीको क्षति

काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबीसे बजारमा बुधबार दिउँसो भएको भीषण आगलागीले २ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ । आगलागीले पाँचवटा घर पूर्ण रूपमा नष्ट हुँदा १७ जना स्थानीयवासी विस्थापित भएका छन् ।
आगलागी रामबहादुर राईको घरबाट सुरु भएको र विद्युत् र सञ्चार सेवामा अवरोध पुग्दै चारैतर्फ फैलिएको थियो । करिब दुई घन्टाको प्रयासपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए । ढुंगामाटोले बनेका पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
घटना पछि सभापोखरी गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत स्वरूप ओड्नेओछ्याउने, भान्साका सामग्री र खाद्यान्न वितरण गरेकाे छ । अग्निपीडितहरूले आफन्त र छिमेकीको शरण लिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले बिहीबार पीडितहरूसँग भेट गरी नगद सहायता हस्तान्तरण गरेको छ । ४ परिवारलाई १५ हजार र पाँचभन्दा बढी सदस्य भएका एक परिवारलाई २० हजार रुपैयाँ प्रदान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहणमणि घिमिरेले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, कम्मल र भाडाकुँडाका सामग्री उपलब्ध गराएको छ ।
अलैंची व्यवसायी संघले ५५ हजार रुपैयाँ र वितरक संघले ६० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । आगलागीका कारण घरभित्र रहेका गरगहना, लत्ताकपडा र खाद्यान्न बचाउन सकिएको छैन । घटनामा मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार, आगलागीबाट प्रभावित परिवारहरू अहिले अस्थायी रूपमा पुनःस्थापनाको प्रयासमा छन् ।
आगलागीको क्षति पुनःस्थापनाका लागि थप पहल गरिने बताइएको छ । गाउँपालिकाका अध्यक्ष भीम लिम्बुले राहत वितरण कार्यलाई तीव्र बनाउन र विस्थापित परिवारको पुनःस्थापनाका लागि थप योजना निर्माण भइरहेको जनाए ।