Shivam

सगरमाथा संवादमार्फत पर्वतीय मुलुकहरूको एजेन्डा विश्वसामु पुर्‍याउने लक्ष्य

0
Burger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्ने घोषणा गरेका छन् । संवादमार्फत जलवायु परिवर्तनका मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने लक्ष्य राखिएको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार यो संवादले कार्बन उत्सर्जनमा न्यून भूमिका खेलेका नेपालजस्ता पर्वतीय देशहरूले भोग्नुपरेको जलवायु संकटलाई विश्वसामु प्रस्तुत गर्नेछ । विशेषगरी जलवायु परिवर्तनले पर्यावरणीय र सामाजिक क्षेत्रमा पारिरहेको प्रभाव, वित्तीय सहायता, र प्रविधि हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिनेछ । ‘नेपालजस्ता मुलुकका एजेन्डालाई संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी)को वार्षिक क्यालेन्डरमा स्थापित गराउन संवाद महत्त्वपूर्ण हुनेछ,’ मन्त्री ठकुरीले भने ।

सगरमाथा संवादमा जलवायु परिवर्तनमा सहकार्य गर्दै आएका विभिन्न देशका सरकार प्रमुखहरू, मन्त्रीहरू र विज्ञहरूलाई आमन्त्रण गरिनेछ । कार्यक्रममा पर्वतीय क्षेत्रदेखि समुद्री किनारसम्मको जलवायु परिवर्तनको असरबारे छलफल हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासमा संवाद आयोजना गर्न लागिएको हो । संवादको तयारीका लागि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नेतृत्वमा निर्देशन समिति गठन गरिएको छ ।

नेपालजस्ता पर्वतीय मुलुकहरूले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असर बढी भोग्नुपरेको छ । संवादले यस्ता मुलुकहरूको पक्षमा अन्तर्राष्ट्रिय सहकार्य र समर्थन जुटाउने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले जलवायु संकटको समाधानका लागि नेपालले देखाएको नेतृत्वदायी भूमिकालाई सगरमाथा संवादले थप प्रभावकारी बनाउने आशा व्यक्त गरे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।