पाथीभरा केवलकार विवाद : फुङलिङ झडपमा २४ घाइते, १५ जना पक्राउ


काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा शनिबार राति ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जनाभन्दा बढी घाइते भएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाइएको छ । आन्दोलनरत समूहका अगुवा कीर्तिमान मादेनका अनुसार अन्य घाइतेहरूको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार झडपमा सुरक्षाकर्मीहरूबाट १२ जना घाइते भएका छन् । तिनमध्ये एक जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। आन्दोलनरत पक्षका घाइतेहरूको सङ्ख्या पनि लगभग त्यति नै रहेको बताइएको छ ।
रातको समयमा झडप भएकाले र केही घाइतेहरू अन्यत्र उपचार गराइरहेकाले यकिन सङ्ख्या तय भइसकेको छैन। प्रहरीले हुलहुज्जत गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ, जसमा आन्दोलनको नेतृत्व गरिरहेका नविन पोमुसमेत रहेका छन् । यद्यपि, प्रहरी प्रशासनले पक्राउ परेका व्यक्तिहरूको विस्तृत नाम सार्वजनिक गरेको छैन ।
स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले फुङलिङ बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
यस निषेधाज्ञाअन्तर्गत पाँच जना भन्दा बढी व्यक्तिहरूको भेला, सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधिहरू प्रतिबन्धित छन् । सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार आदेश उल्लंघन गर्ने वा प्रशासनको निर्देशन अवज्ञा गर्ने कुनै पनि व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिनेछ ।
निषेधित क्षेत्रमा फुङलिङ नगरपालिका वार्ड नं ७ को सल्लेरीदेखि घोडेचौरसम्म, वार्ड नं ४ को उकालीपानी, वार्ड नं ६ को शेर्पा टोल, काफ्लेपाटी-बल्लुडाँडा क्षेत्र, पर्यटक प्रहरी भवन वरपरको १०० मिटर क्षेत्र, नयाँ बसपार्क वरपरको १०० मिटर क्षेत्र, केबलकार बेस स्टेसनदेखि पानीको मुहानसम्मको १०० मिटर इलाका तथा बल्लुडाँडा-डडेले इलाकासमेत समावेश गरिएको छ । प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

