लागुऔषधको कारोबार र दुर्व्यसनी बढ्दो, यसलाई रोक्न के छ प्रहरीको योजना ?

काठमाडौँ । महाशिवरात्रिका दिन नेपाल र भारतमा भाङ मिसाइएको दूध (भाङको लस्सी) तथा गाँजा सेवन गर्ने परम्परा रहेको छ । शिवभक्तहरूले यस दिनमा गाँजा, भाङ र धतुरोलाई ‘प्रसाद’ को रूपमा लिने गरेका छन् । तर यसदिन बाहेक पनि कोही मानिसहरूले अत्यधिक धूम्रपान र मद्यपान सेवन गर्ने गर्छन् । जसकारण समाजमा विभिन्न हत्या, हिंसा, चोरी, डकैती र गैरकानुनी क्रियाकलापहरू बढ्दै गएको देखिन्छ ।
नेपाल प्रहरी केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कलाई अध्ययन गर्दा आर्थिक वर्ष २०७५/७६ देखि ७९/८० सम्म सबैभन्दा बढी हुने गरेको अपराध नै सामाजिक अपराध हो । लागु पदार्थ सेवन तथा दुर्व्यसनीबाट सृजित अपराधहरू यसै भित्र पर्दछन् ।
गत फागुन ११ गते मात्रै पनि अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका थिए ।
- बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अम्लेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मीलाई पक्राउ परेका थिए ।
- सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय १० ट्याब्लेट, स्पास्रेस्ट १ हजार ६ सय ६० ट्याब्लेट र स्पास्पेन ७ सय ३० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धरान उपमहानगरपालिका-८ घर भएकी २९ वर्षीया सुस्मा तामाङलाई प्रहरीले फागुन ११ गते पक्राउ गरेको थियो ।
- मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन ५९ एम्पुल, नोर्फिन १३ एम्पुल सहित बकैया गाउँपालिका-४ छतिवन बस्ने २४ वर्षीय नवीन सुनारलाई पनि प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
- कञ्चनपुर, बेलौरी नगरपालिका- ४ बेलौरी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका- ७ गणेशपुर बस्ने २४ वर्षीय खुसी राम राना र २२ वर्षीय देव राज राना रहेका छन् ।
- यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २३ वर्षीय दीपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी रहेका छन् ।
- बाँके, नेपालगन्ज उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने २३ वर्षीय विनय कोरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपालमा यस्ता अपराधहरू दैनिक हुने गरेका छन् । दैनिक यस्ता केसमा धेरै व्यक्ति पक्राउ पर्छन् । नेपालमा धूम्रपान र मद्यपान सेवनकै कारण विभिन्न हिंसाहरू हुने गरेको प्रहरीको तथ्याङ्क छ ।
यस्तो छ तथ्याङ्क
नेपाल प्रहरीको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा २,७५२ ओटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भएका छन् । कारोबारमा संलग्न ४,२४६ जना अपराधी पक्राउ परेका छन् । जसमध्ये ४,०९३ जना नेपाली, १४५ जना भारतीय र ८ जना अन्य विदेशी रहेको देखिन्छ ।
यस अवधिमा नेपाल प्रहरीले २३,०८९ किलो भन्दा बढी गाँजा, ३५२ किलो भन्दा बढी चरेस, ४५ किलो भन्दा बढी अफिम, १५ किलो भन्दा बढी कोकिन र विभिन्न परिमाणमा अन्य लागु औषधहरू बरामद गरेको छ । लागु औषधहरूको कारोबारमा पक्राउ परेकाहरू मध्य कोशी प्रदेशबाट धेरै छन् । आव २०८०, ८१ माघसम्ममा कोशी प्रदेशबाट १ हजार १०४ जना पक्राउ परेका छन् भने कर्णालीबाट सबैभन्दा थोरै १२८ जना पक्राउ परेका छन् ।
त्यसैगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट क्रमशः ४०३, ४२५, १९३, ५९३, ५७६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्र.ना.म.नी दिनेश कुमार आचार्यले बरामद गरिएका लागु औषधहरूलाई डिस्ट्रोइ गर्ने बताएका छन् ।
किन मानिसहरू लागूपदार्थ दुर्व्यसनको सिकार बन्छन् ?
पछिल्लो समय मूख्यगरि ८०–९० प्रतिशत पिएर ग्रुपको संगतले लागु औषध प्रयोगकर्ता बढ्दै गएको केन्द्रीय प्रहरी प्रवक्ता आचार्यले जानकारी दिए । उनले टिनेजरहरू बढी देखिएको बताए । १६/१७ वर्षदेखि २५ वर्षका मानिसहरू त्यसमा बढी लागेको उनले बताए ।
‘सुरुको अवस्थामा पिएर ग्रुपका कारण अलिकति खाँदा के हुन्छ र ? भन्ने हिसाबले प्रयोग गर्छन्, त्यसपछि लत लाग्ने अवस्था देखिएको छ । केही प्रतिशत मानिसहरू चाहिँ सुरुमा कारोबारमा लागे, त्यसपछि चाहिँ आफै प्रयोगकर्ता भएको देखिन्छ ।’ उनले भने ।
प्रवक्ता आचार्यले पछिल्लो समय केही प्रतिशत मानिसहरू कारोबारमा लागेपछि आफै प्रयोगकर्ता बनेको देखिएको बताए । उनले केही व्यक्तिहरू भने तनावका कारणले पनि लागु पदार्थ सेवन गर्न सुरु गरेको पाइएको बताए ।
लागुऔषध दुर्व्यसनलाई रोक्न प्रहरीको योजना के छ ?
लागुऔषध दुर्व्यसनलाई रोक्न प्रहरीले लागुऔषध कारोबारलाई नै रोक्ने, न्यूनीकरण गर्ने, आयात–निर्यातलाई रोक्ने, लागुऔषध दुर्व्यसनमा फसेका मानिसहरूलाई उपचारमा र पुनस्थापनामा सहयोग गर्ने, प्रयोगकर्ताहरू घटाउने योजना सहित काम कारबाहीहरूलाई अगाडी बढाइ रहेको प्रवक्ता आचार्यले जानकारी दिए ।
उनले उत्पादनलाई नै घटाउने अर्को योजना रहेको बताए । उनले भने ‘नेपालमा उत्पादन पनि भइरहेको छ, उत्पादनलाई नै कम गर्ने । जनचेतना, सप्लाई कन्ट्रोल हाम्रा मुख्य विषय हो, यसमा नै ध्यान दिइरहेका छौँ ।’
लागु औषध सम्बन्धी अपराधमा कस्तो सजाय हुन्छ ?
प्रवक्ता आचार्य भन्छन् ‘यसमा धेरै ठुलो सजाय पनि छ, थोरै लामो समयसम्मको सजाय पनि छ । कारोबारमा संलग्न मान्छेहरूको कुन हिसाबको लागु औषध हो छुट्याएर सजाय हुने हो । प्रयोगकर्ताको हिसाबले हामी दुई तरिकाले कारबाही गर्छौ । भरखर सुरुवात गरेको हो भने करेक्सन गर्न सक्ने अवस्था भएमा हामी करेक्सन गर्ने, रिहाबहरूमा पठाउने गर्छौ, त्यसरी नै कानुनी कारबाही गर्नु खालको छ भने त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’
प्रवक्ता आचार्यले लागूपदार्थ दुर्व्यसन सामाजिक अपराध भएको बताए । उनले लागूपदार्थको सेवनले समाज, परिवार र व्यक्तिमा एकदमै ठुलो असर पार्ने जानकारी दिए । यसले अर्थतन्त्रमा पनि ठुलो असर पार्ने उनको भनाइ छन् । ‘त्यसकारण यस्ता चिजहरूबाट टाढै रहनु पर्छ, प्रयोग गर्नु हुँदैन ।’ उनले भने ।
वास्तवमै लागूपदार्थको सेवनले समाज, परिवार, व्यक्ति र राष्ट्रलाई नै ठुलो हानी पुर्याएको देखिन्छ । मद्यपान र लागूपदार्थ सेवनकै कारणले सडक दुर्घटना पनि बढ्दै गएको छ । उक्त दुर्घटनामा परेर धेरै ज्यान गुमाइ सकेका छन् । यसले घर, परिवार र समाजमा झैँ–झगडाहरू पनि निम्त्याउँछन् । त्यसैले हामी सबैले यसको न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी छ ।