प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय गरिएको बैठकमा ओली स्वयं भने उपस्थित हुने छैनन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेकाअनुसार बैठकको उद्देश्य सरकार सञ्चालनसम्बन्धी विषयमा छलफल गर्नु हो ।
सत्तारुढ कांग्रेस-एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरेको थिए । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उच्चस्तरीय संयन्त्रमा छन् ।
सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गर्न बहुमत नभएपछि सत्तापक्ष अहिले अप्ठ्यारोमा छ । बैठकले हालको राजनीतिक परिदृश्य र सरकारको रणनीति सम्बन्धी महत्वपूर्ण विषयहरूमा विचार-विमर्श गर्ने अपेक्षा गरिएको छ ।
