बुटवलमा लुम्बिनी मिडिया सम्मेलन सुरु : सञ्चार ग्राम स्थापनामा नगरप्रमुख पाण्डेयकाे जाेड


बुटवलमा दाेस्राे मिडिया सम्मेलन सुरु भएकाे छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएकाे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सञ्चार ग्राम स्थापनामा जाेड दिनुभयाे ।
बुटवलमा सञ्चार गृहकाे व्यबस्थापन र विकासका लागि सञ्चार ग्रामकाे अवधारणा ल्याईएकाे बताउँदै उहाँले सञ्चार ग्रामकाे स्थापनामा सहयाेग गर्न आग्रह गर्नुभयाे । उहाँले सञ्चार जगतका लागि विनियाेजन गरिएकाे बजेटमा सञ्चार क्षेत्रकै व्यक्तिहरुबाट बिराेध भईरहेकाे बताउदै त्यसले सञ्चार क्षेत्रकाे विकासमा बाधा पुरयाउने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयाे ।
उहाँले पूर्व-पश्चिम र उत्तरदक्षिणकाे संगम बुटवल धेरै कुरामा सम्भावना बाेकेकाे बताउँदै आसपासका कुराहरुबाट समेत लाभ लिन सकिने भएकाले त्यसमा सबैकाे साथ र सहयाेकाे लागि आग्रह गर्नुभयाे ।
दुईदिनसम्म चल्ने मिडिया सम्मेलनमा सञ्चार माध्यमलाई कसरी चलायमान बनाउन सकिन्छ, मिडियालाई जोगाउने र मिडियाकर्मीलाई बचाँउने आधारहरु के–के हुन सक्छन् भन्ने विषयमा छलफल गरिने समाजका अध्यक्ष नवराज कुवरले जानकारी गराउनु भयाे ।
मिडिया सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहेकाे छ । मिडिया सम्मेलनमा ‘परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो’, छापा माध्यम, किन र कसका लागि ?, अनलाइन पत्रकारिता, विज्ञापन बजार, सञ्चार संस्था नियमन या नियन्त्रण, पत्रकार र पत्रकार महासंघ लगायतका विषयमा छलफल गरिने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका सचिव माधव नेपालले जानकारी दिनुभयो ।
मिडिया सम्मेलनले सञ्चार माध्यमको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने र ठोस कार्ययोजना बनाउने छ । त्यस्तै सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको समाजका उपाध्यक्ष विष्णु भुसालले बताउनु भयो ।
