पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस, त्यसैमा तिम्रो भलाई छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताए । उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरे ।
नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ । उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ रु भन्दै प्रश्न समेत गरे ।
उनले भने ‘आज देशभरका युवाहरूलाई साँच्चि राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाई छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आऊ राजनीतिमा गर्न पाउँछौँ । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ती सबै राजाहरू आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साँच्चै जनताको सेवा गर्न मन छ भने, साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजाधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौँ । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने रु म सोध्छु उहाँलाई ।’
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तीहरू सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरूले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरे ।