Shivam

त्रिभुवन युनाइटेड एकेडेमीद्धारा निशुल्क स्वास्थ्य परीक्षण तथा फस्ट एड तालिम सम्पन्न

0
Burger

बुटवल । शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुन्न, यसले जीवनोपयोगी सीप र सामाजिक उत्तरदायित्वबोध पनि दिनुपर्छ भन्ने दृष्टिकोणका साथ, बुटवल–७, दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीले रेडक्रस दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य परीक्षण तथा फस्ट एड तालिम सम्पन्न गरेको छ। सामाजिक सेवामार्फत बालबालिकाको समग्र विकासमा टेवा पु¥याउने लक्ष्यका साथ गरिएको कार्यले अभिभावकदेखि शिक्षक र विद्यार्थीहरू सबैलाई सकारात्मक सन्देश दिएको छ।

जुनियर रेडक्रस सर्कल त्रिभुवन युनाइटेड एकेडेमीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ५ सय ६० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै कक्षा ३ देखि १० सम्मका ३ सय ४० जना विद्यार्थीहरूलाई प्राथमिक उपचार (फस्ट एड) तालिम दिइएको हो।

विद्यालयका सह–प्राचार्य रामचन्द्र बस्यालले विद्यार्थीहरूलाई सानो उमेरमै स्वास्थ्यप्रति जागरूक बनाउनु र आपतकालीन अवस्थाहरूमा कसरी सहयोग गर्न सकिन्छ भन्ने सीप प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्राविधिक सहयोग सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका थिए। स्वास्थ्य परीक्षण कार्यमा आम्दा अस्पतालका विशेषज्ञ चिकित्सक डा. श्रीकान्त सुवेदीसहितको टोलीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, बुटवल उपशाखाका सचिव लोकनाथ ज्ञवालीले शिक्षण संस्थाहरूले यस्ता व्यावहारिक र जीवन उपयोगी कार्यक्रम सञ्चालन गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरूमा मानवता, सेवा भाव र आपतकालीन समयमा अग्रसर हुने चेतना विकास गर्न मद्दत पुग्ने बताउदै विद्यार्थीहरूले पाएका तालिम र ज्ञानले केवल विद्यालयभित्र मात्र होइन, समाजमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, त्रिभुवन युनाइटेड एकेडेमीका अध्यक्ष उमाकान्त बस्यालले त्रिभुवन युनाइटेड एकेडेमीलाई केवल शिक्षा दिने संस्था मात्र होइन, समाजप्रतिको जिम्मेवारी वहन गर्ने संस्था बनाउन अग्रसर रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई व्यवहारिक जीवन, सीपका साथ मानवताको पाठ पनि सिकाउने विद्यालयको लक्ष्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता जुनियर रेडक्रस सर्कल त्रिभुवन युनाइटेड एकेडेमीकी उपाध्यक्ष सायरी सेरचनले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एकेडेमीकी शिक्षिका बसुन्धरा भुसालले गर्नुभएको थियो । सदस्यहरूको सक्रियता, शिक्षकहरूको सहयोग र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रममा उत्साहजनक वातावरण सिर्जना गरेको थियो। कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, चेतना र सेवाभावमा नयाँ ऊर्जा भरेको छ। शैक्षिक संस्थाले यस्ता सामाजिक र व्यवहारिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदा समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने स्पष्ट संकेत दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।