Shivam

देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

0
Burger

काठमाडौँ  । देशभर मौसममा सक्रिय प्रणालीहरूको संयुक्त प्रभावले विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहँदा देशका विभिन्न स्थानमा बादल लाग्ने, वर्षा र हिमपातका सम्भावना देखिएका छन्।

महाशाखाका अनुसार देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली छ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने उच्च हिमाली भूभागमा हल्का हिमपात पनि हुन सक्छ।

त्यस्तै, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ।राति पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा समेत केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।

महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सम्भावित वर्षा र हिमपातले जनजीवन, कृषि, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।