Shivam

इस्तानबुलमा सम्भावित जेलेन्स्की–पुटिन वार्ता : युद्ध अन्त्यतर्फ आशाजनक संकेत

0
Burger

काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहलले नयाँ गति लिएको छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि सहमति जनाएका छन्। टर्कीको इस्तानबुलमा आउँदो बिहीबार दुवै नेताबीच ऐतिहासिक भेटवार्ता हुने सम्भावना छ।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आफू पुटिनलाई इस्तानबुलमा पर्खिरहेको हुने बताएका छन्। उनले लेखेका छन्, “मान्छे मरिरहनु राम्रो होइन। म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु।”
उनको यो अभिव्यक्ति अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुससँग प्रत्यक्ष वार्तामा बस्न सुझाएको केही समयमै आएको हो। ट्रम्पको भनाइले वार्ताका लागि नयाँ ढोका खोलिदिएको विश्लेषकहरूको भनाइ छ।

युद्धको प्रारम्भिक चरणमा राष्ट्रपति जेलेन्स्की वार्ताका लागि तयार देखिए पनि पछिल्लो समय उनी युद्धविरामलाई प्राथमिकतामा राख्दै वार्ता नहुने अडानमा थिए। तर हाल अन्तर्राष्ट्रिय समुदायको चाप र युद्धबाट उत्पन्न मानवीय संकटका कारण उनले लचिलो दृष्टिकोण अवलम्बन गरेका छन्।

गत शनिबार युक्रेनको राजधानी किभमा ‘इच्छुकहरूको गठबन्धन’ (Coalition of the Willing) को बैठक सम्पन्न भएको थियो। उक्त बैठकपछि युरोपेली मुलुकहरूले तत्काल युद्धविरामको माग गरेका थिए। त्यसको केही समयमै रुसी राष्ट्रपति पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव सार्वजनिक गरे।

शनिबार साँझ पुटिनले पहिलोपटक युद्ध अन्त्यका लागि गम्भीर प्रस्ताव सार्वजनिक गर्दै भनेका थिए, “स्थायी शान्तिको दिशामा यो पहिलो कदम हो।”

जेलेन्स्कीले पनि वार्ताको दिनअघि नै रुसबाट युद्धविरामको संकेत आउने अपेक्षा गरेका छन्। विश्लेषकहरूका अनुसार, इस्तानबुल वार्ता सफल भएमा पूर्वी युरोपमा स्थायित्व र शान्तिका लागि नयाँ युगको शुरुआत हुन सक्छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।