अमेरिका–चीन व्यापार सम्झौता : तनावपछिको विश्वासको नयाँ अध्याय

काठमाडौं । दुई आर्थिक महाशक्ति—अमेरिका र चीनबीच लामो समयदेखि चल्दै आएको व्यापार तनाव अन्त्यतर्फ उन्मुख हुँदै नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न दुईदिने वार्तापछि दुवै पक्ष ऐतिहासिक सहमतिमा पुगेका हुन्।
अमेरिकी सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतापछि खुसी व्यक्त गर्दै यसलाई “ऐतिहासिक उपलब्धि” को रूपमा उल्लेख गरेका छन्। “म खुशी छु कि अमेरिका र चीनबीच व्यापार सम्झौतामा महत्वपूर्ण प्रगति भएको छ,” उनले भने, “सम्झौताको विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि सम्झौता बारे जानकारी गराइएको छ, र उनले यसलाई सकारात्मक रूपमा लिएको बेसेन्टले बताएका छन्।
त्यस्तै, अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले वार्तालाई “रचनात्मक र आशाजनक” भएको बताउँदै भने, “हामी छिट्टै सहमतिमा पुग्न सफल भयौं, जसले देखाउँछ कि हामीबीच अनुमान गरेजस्तो ठूलो मतभेद थिएन।”
अघिल्लो केही महिनायता अमेरिका र चीनबीच एकअर्काविरुद्ध थप भन्सार कर तथा ट्यारिफ लगाउने निर्णयहरूमार्फत व्यापार युद्ध चर्कँदो अवस्थामा पुगेको थियो। यस्तो संवेदनशील पृष्ठभूमिमा भएको यो सहमति विश्लेषकहरूका नजरमा एउटा महत्वपूर्ण कूटनीतिक सफलता हो।
केही दिनअघि राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२०० अर्ब डलर पुगेको भन्दै कठोर नीति अपनाउने चेतावनी दिएका थिए। यस्तै चुनौतीपूर्ण परिस्थितिमा गरिएको यो सम्झौता भविष्यमा दुई देशबीचको आर्थिक सहकार्यलाई नयाँ दिशा दिनसक्ने विश्वास गरिएको छ।

