Shivam

२५६९औं बुद्ध जयन्ती : शान्ति, करुणा र अहिंसाको संदेशसहित देशभर श्रद्धाभावले मनाइँदै

0
Burger

काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती देशभर श्रद्धा, भक्तिभाव र उत्सवमय वातावरणमा मनाइँदैछ। शान्ति, करुणा र अहिंसाको अमूल्य सन्देश दिने यस पावन अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

विशेष रूपमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा यस वर्ष बुद्ध जयन्ती विशेष कार्यक्रमसहित भव्य रूपमा आयोजना गरिएको छ। लुम्बिनी विकास कोषको संयोजनमा आज विविध धार्मिक गतिविधिहरू, पूजाआजा, ध्यान, प्रार्थना तथा शान्ति र्‍याली गरिँदैछ। मुख्य समारोहको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हुने तय भएको प्रचारप्रसार समिति संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए।

लुम्बिनी क्षेत्र विशेष आकर्षणको केन्द्र बनेको छ। मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी, विभिन्न स्तूप र बौद्ध विहारहरू रंगीचंगी बत्तीले सजाइएको छ। साथै विशेष सरसफाइ अभियानमार्फत सम्पूर्ण क्षेत्रलाई झलमल र स्वच्छ बनाइएको छ।

आयोजकका अनुसार यस वर्षको बुद्ध जयन्तीले युद्ध, द्वन्द्व र अशान्तिले ग्रस्त वर्तमान विश्वलाई शान्तिको मार्गमा डोहोर्याउने गहिरो सन्देश दिन खोजेको छ। “बुद्धका उपदेशहरूले आजको अस्थिर संसारलाई संयम, सहिष्णुता र करुणातर्फ उन्मुख गराउने विश्वास लिएको छ,” आयोजकले जनाएका छन्।

देशैभरका विभिन्न स्थानबाट साथै विदेशबाट समेत हजारौं श्रद्धालु भक्तजन बुद्ध जयन्ती मनाउन लुम्बिनी पुगेका छन्। उनीहरूको सुरक्षाका लागि व्यापक सुरक्षाको व्यवस्था गरिएको छ। “श्रद्धालुहरूले शान्तिपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन सकून् भन्ने उद्देश्यले सम्पूर्ण तयारी पूरा गरिएको छ,” भट्टराईले बताए।

यस वर्षको मुख्य समारोह लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुँदैछ, जसका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।