महिला टी–२० विश्वकप एसिया छनोट: नेपाल आज हङकङसँग निर्णायक भिडन्तमा

काठमाडौं । थाइल्याण्डको बैंककमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग निर्णायक खेल खेल्दैछ। समूह ‘सी’ अन्तर्गतको यो महत्त्वपूर्ण प्रतिस्पर्धा टेरथाई क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार बिहान १२:३५ बजे सुरु हुनेछ।
प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको छ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई सहज रूपमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरिसकेको छ।
हङकङको भने दुवै खेल वर्षाले प्रभावित भएका कारण टोलीले अझै पूर्ण खेल खेल्न पाएको छैन। यसले प्रतियोगितामा उसको स्थितिलाई कमजोर बनाएको छ।
यदि नेपालले आजको खेलमा हङकङलाई पराजित गर्न सफल भयो भने, एक खेल बाँकी छँदै समूह विजेता बन्दै सुपर थ्री चरणमा स्थान पक्का गर्नेछ। तर पराजित भएमा नेपालको यात्रा कठिन बन्नेछ।
नेपाल र हङकङबीच पछिल्ला पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले दुई जित निकालेको छ, जबकि हङकङले एक खेलमा मात्र जित हात पारेको छ। बाँकी दुई खेल मौसमका कारण नतिजाबिहीन भएका थिए।
प्रतियोगितामा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्री चरणमा प्रवेश पाउनेछ। त्यसपछि तीन टोलीबीच राउण्ड रोबिन आधारमा प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष दुई टोलीले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।
नेपाली महिला क्रिकेट टोली अहिलेसम्म ग्लोबल क्वालिफायर पुग्न सकेको छैन। तर, यसपटक टोलीले नयाँ आत्मविश्वास र ऐतिहासिक लक्ष्यका साथ मैदानमा उत्रिएको छ—ग्लोबल क्वालिफायर हुँदै विश्वकपमा स्थान बनाउने। आजको खेलले उक्त अभियानको दिशा तय गर्नेछ।

