सरकारी स्वास्थ्य संस्थामा औषधि आपूर्तिका लागि सहजीकरण समिति गठन


काठमाडौँ । नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ।
मंगलवार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा औषधिको पहुँच सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार आफैंले उत्पादन गरेको औषधि नै खरिद नगरेको गुनासो उठेपछि यस्तो समिति गठन गरिएको जानकारी दिए। “हामीले आवश्यकता अनुसारका औषधि लिमिटेडबाटै खरिद गर्छौं, बाहिरी स्रोतबाट किन्नु पर्ने अवस्था आउँदैन,” मन्त्री पौडेलले बताए।
उनका अनुसार नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने औषधिको गुणस्तर विश्व स्वास्थ्य संगठन (WHO) बाट प्रमाणित भएको छ र सरकारले वितरण प्रक्रिया सहज बनाउन आवश्यक समन्वय गरिरहेको छ।
पौडेलले स्थानीय तहहरूसमक्ष ९८ प्रकारका औषधि लिमिटेडबाट नै खरिद गर्न पटकपटक अनुरोध गरिएको तर व्यवहारमा लागू नहुने स्थिति देखिएको बताए। “हामी बाध्य पार्न सक्दैनौँ, आग्रह गर्न मात्र सक्छौं,” मन्त्री पौडेलले भने।
समितिमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू, नेपाल औषधि लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक पनि सहभागी हुनेछन्।
