Shivam

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयको अनुगमन, नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति दुरुपयोगको खुलासा

0
Burger

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको हङ्सपुर नगरपालिकाका सामुदायिक विद्यालयहरूको अनुगमन गर्दै शिक्षामा सुधार ल्याउन सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन्।

नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौँडाको अनुगमनका क्रममा निजी विद्यालयमा पढिरहेका विद्यार्थीहरूको नाम प्रयोग गरी उनीहरूकै नामबाट छात्रवृत्ति तथा खाजा खर्च लिइएको पाइएपछि मुख्यमन्त्री सिंहले गम्भीर आपत्ति जनाएका हुन्।

शिक्षाविद् गुरु सुवेदीका अनुसार विद्यालयमा नक्कली विद्यार्थीको विवरण तयार गरी छात्रवृत्ति, खाजा लगायतका शीर्षकमा सरकारबाट प्राप्त रकम दुरुपयोग भएको पाइएको छ। उनले यस्तो कार्यलाई प्रत्यक्ष भ्रष्टाचार भन्दै दोषीलाई कारबाही गर्न माग गरे।

मुख्यमन्त्री सिंहले सरकारी साधनस्रोतको दुरुपयोग गम्भीर विषय भएको भन्दै प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोमार्फत सम्बन्धित निकायमा पत्राचार गरी कडाइका साथ नियमन गर्न निर्देशन दिए।

यसै क्रममा मुख्यमन्त्री सिंहले हङ्सपुर नगरपालिका–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको पनि निरीक्षण गरे। विद्यार्थीको चाप अत्यधिक रहेको विद्यालयमा शौचालयजस्ता आधारभूत पूर्वाधारको अभाव देखिएको भन्दै उनले नगर उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए।

उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरिने जानकारी दिइन्।

यसअघि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका १३६ वटै पालिकालाई सामुदायिक विद्यालयको शिक्षण प्रणालीमा सुधार ल्याउन एक महिना अगाडि पत्राचार गरेको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।