Shivam

मिसन ०८४’ सफल बनाउन जनसंगठनहरूलाई सक्रिय बन्न ओलीको निर्देशन

0
Burger

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित ‘मिसन ०८४’ सफल बनाउन पार्टीका जनसंगठनहरूलाई अझ सक्रिय र नतिजामुखी बन्न निर्देशन दिएका छन्।

बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनसंगठनले समयानुकूल गतिविधि अघि नबढाएसम्म अपेक्षित उपलब्धि हासिल नहुने बताएका हुन्। फागुनदेखि वैशाखसम्म महाधिवेशन सम्पन्न गरेका १० वटै जनसंगठनका पदाधिकारीहरूलाई बधाई दिन आयोजना गरिएको संयुक्त कार्यक्रममा उनले गुटबन्दी र अनुशासनहीन गतिविधि नस्वीकार्य हुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार प्रतिकूल परिस्थितिमा संचालन भइरहेको उल्लेख गर्दै, चारैतिरबाट भइरहेको आलोचनाको प्रतिवाद गर्न जनसंगठनहरू अग्रसर हुनुपर्ने बताए। “एमाले र नेतृत्वविरुद्ध फैलाइएका अफवाहको जवाफ हाम्रो लोकतन्त्रप्रतिको निष्ठाबाट दिनुपर्छ,” उनले भने।

उनले स्मरण गराए कि एमाले ५५ वर्षअघि विभिन्न विचार समूहको एकताबाट बनेको पार्टी हो, र अहिलेको अवस्था ‘जहाँ नेपाली, त्यहाँ एमाले’ बन्न पुगेको उल्लेख गरे। जनसंगठनहरूलाई उनले पार्टीको “कार्यकर्ता उत्पादन गर्ने कारखाना” का रूपमा परिभाषित गर्दै, गम्भीर भूमिकाको अपेक्षा राखे।

“जनसंगठन प्रायोजित होइन, प्रयोजनसहितको हुनुपर्छ,” ओलीले भने, “तपाईंहरू विचारमा दृढ, अनुशासनमा कठोर बन्नुहोस्। कार्यकर्तामाथि रुखो व्यवहार, हप्काउने शैली त्याग्नुपर्छ।”

सामाजिक सञ्जालमा एमालेविरुद्ध भइरहेको दुष्प्रचारको प्रत्युत्तर जनसंगठनले दिनुपर्ने धारणा व्यक्त गर्दै उनले भने, “पिपिरीका तालबिना बजाइएका भ्रम चिर्न सक्ने क्षमता जनसंगठनसँग हुनुपर्छ। एकपटक जनसंगठन सक्रिय भए, विरोधीहरू आफैँ हराउँछन्।”

कार्यक्रमको सञ्चालन पार्टी जनसंगठन समन्वय विभाग प्रमुख भानुभक्त ढकालले गरेका थिए। कार्यक्रममा १० वटै जनसंगठनका इन्चार्जहरू र निवर्तमान अध्यक्षहरू सहभागी थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।