“सबैको साझा प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन”

तिलोत्तमा । सडक दुर्घटना न्यूनीकरण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै सरोकारवालाहरूले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजनामा, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशको समन्वय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा तिलोत्तमा–५ मणिग्राममा बुधबार आयोजित ट्राफिक सचेतना र्याली तथा सडक दुर्घटना न्यूनीकरण अभ्यास कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले सडक दुर्घटना नियन्त्रणका लागि नगरपालिका गम्भीर रहेको बताए। “नेपालमा सडक दुर्घटनाबाट दिनप्रतिदिन मृत्यु हुने दर बढिरहेको छ। यी दुर्घटनाको जिम्मेवार सरकार, यातायात प्रणाली, चालक, पैदलयात्री सबै हौं,” उनले भने ” अब हामी सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,” ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टले सडक दुर्घटना न्यूनीकरणका लागि सबै प्रयोगकर्ताको भूमिकालाई महत्त्वपूर्ण बताउँदै भने, “वार्षिक रूपमा नेपालमा औसत २ हजार ३ सयदेखि २ हजार ५ सय जनाको सवारी दुर्घटनाबाट ज्यान जान्छ, र २५ हजारदेखि २७ हजारसम्म घाइते हुने गर्छन्। यसले समाज र परिवारमा गहिरो असर पार्दछ।”
उनले सडकको विस्तार र सवारीसाधनको संख्यामा वृद्धिसँगै दुर्घटनाको जोखिम समेत बढेको बताए। “यस्तो अवस्थामा प्रत्येक प्रयोगकर्ताले आफ्नो दायित्व बुझ्न आवश्यक छ,” उनले स्पष्ट पारे।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले जनचेतनाका लागि दृष्टिगत सन्देशहरू महत्त्वपूर्ण हुने बताए। “एउटा चित्रले लाखौं सन्देश दिन सक्छ,” उनले भने, “ट्राफिक नियमको पालनासँगै अरुलाई जानकारी दिनु पनि नागरिकको कर्तव्य हो।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले विश्वमा मृत्युको आठौं प्रमुख कारण सवारी दुर्घटना भएको जानकारी दिँदै सबैलाई सजग रहन आग्रह गरिन्। “सानो लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ,” उनले भनिन्।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सडक दुर्घटना न्यूनीकरणका लागि संस्थाले सँधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई हातेमालो गर्न आग्रह गरे।
संस्थाका दीपक ढकालले सुरक्षित यात्रा नेपालले विगत १२ वर्षदेखि सुरक्षित, मर्यादित र सहज यात्राका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए। “नीति निर्माणदेखि विद्यालयसम्मको स्तरमा हामी जनचेतना फैलाउँदै आएका छौं,” उनले भने।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडक अनुशासनको पालना आवश्यक भएको बताए। “सडकमा सवारी लेन नमान्दा दुर्घटना बढेको छ, अब सचेत हुने समय हो,” उनले बताए।
कार्यक्रमको निष्कर्षमा सरोकारवालाहरूले सबै पक्षको समन्वय र सहभागिता बिना सडक दुर्घटना न्यूनीकरण असम्भव हुने निष्कर्ष निकाले। उनीहरूले नागरिक, चालक, नीति निर्माता र ट्राफिक प्रहरी सबैले साझा जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंल्याए।

