इस्तानबुलमा युक्रेन–रुस शान्ति वार्ता , युद्ध अन्त्यको आशामा विश्वको ध्यान

काठमाडौं — युक्रेन–रुस युद्ध अन्त्यको सम्भावनासहित बहुप्रतीक्षित शान्ति वार्ता आज (बिहीबार) टर्कीको इस्तानबुलमा आयोजना हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा तय भएको वार्तामा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन भने सहभागी नहुने भएका छन्।
क्रेमलिनद्वारा जारी विज्ञप्तिअनुसार रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका विशेष सल्लाहकार भ्लाडिमिर मेडिन्स्कीले गर्नेछन्। यद्यपि, जेलेन्स्कीले यसअघि पुटिनसँग प्रत्यक्ष वार्ताको इच्छा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए।
जेलेन्स्की टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेटघाटका लागि बिहीबार टर्कीमै रहने कार्यक्रम रहेको छ। सन् २०१९ को डिसेम्बर यता जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष भेटघाट भएको छैन। सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि भएका संवादहरू खासै सफल हुन सकेका थिएनन्।
युरोपेली नेताहरूको पछिल्लो किभ भ्रमणपछि युद्धविरामका लागि पुटिनमाथि दवाव बढेको थियो। त्यसको प्रतिक्रिया स्वरूप पुटिनले वार्ताको प्रस्ताव अघि सारेका थिए। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई वार्ता स्वीकार गर्न सुझाव दिएपछि उनी आफैं सहभागी हुने निर्णयमा पुगेका हुन्।
पुटिन अनुपस्थित रहने भएपछि ट्रम्पले पनि वार्तामा भाग नलिने जनाएका छन्। यद्यपि, अमेरिकी विदेशमन्त्री मार्क रुबियो टर्की पुगिसकेका छन्। उनले वार्ताअघि नाटो सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ भने शुक्रबार युरोपेली समकक्षीसँग शान्ति प्रक्रिया र युद्धविरामको खाकाबारे छलफल गर्नेछन्।
इस्तानबुलमा हुने यो वार्ता हालसम्मकै महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यदि वार्ताले सहमतिको मोड लियो भने, युक्रेन–रुस युद्ध अन्त्यको दिशामा निर्णायक कदम बन्न सक्नेछ।

